२०८२ माघ २ गते शुक्रवार

सानिमा बैंक तुलसीपुरले दियो विद्यार्थीलाई एक लाख रुपैयाँको छात्रवृत्ति

तुलसीपुर, ९ मंसिर । सानिमा बैंक तुलसीपुर शाखाले स्थानीय गरिब तथा जेहेन्दार विद्यार्थीसहित दुई जनालाई एक लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ। आइतबार आयोजित एक कार्यक्रममा उनीहरूलाई ५०/५० हजार रुपैयाँका दरले छात्रवृत्ति हस्तान्तरण गरिएको हो।

छात्रवृत्ति प्राप्त गर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ का आशिष घिमिरे र दंगीशरण गाउँपालिका–३ का सुशिल चौधरी रहनु भएको छ ।  कार्यक्रममा तुलसीपुर–५ का वडाध्यक्ष विरेन्द्र शाह, नगर शिक्षा प्रमुख चक्र बहादुर भण्डारी लगायतको सहभागिता थियो। सानिमा बैंकले आर्थिक वर्ष २०६८/२०६९ देखि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गर्दै आएको  ‘सानिमा छात्रवृत्ति कार्यक्रम’ मार्फत प्रत्येक वर्ष दुईजना विद्यार्थीलाई  एक लाख रुपैयाँ बराबरको सहायता प्रदान गर्दै आएको छ।

विद्यार्थीलाई आफ्नै रोजाइको शैक्षिक संस्था तथा संकायमा उच्च शिक्षा हासिल गर्न प्रेरित गर्ने उद्देश्य रहेको बैंकका शाखा प्रमुख  मछिन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो । स्थानीय तहका विद्यालयहरूबाट प्राप्त आवेदनका आधारमा सम्पन्न छनोट प्रक्रियामा सफल  विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको बैंकले जनाएको छ। कार्यक्रमका वक्ताहरूले सानिमा बैंकको यो पहलले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको उज्जवल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरेका थिए।

प्रकाशित मिति : २०८२ मङ्सिर ९ गते मङ्गलवार
प्रतिक्रिया