जस्तोसुकै परिस्थितिमा पनि आफ्नो कर्तव्यपथबाट किञ्चित विचलित नहुने नेपाल प्रहरीका जवानदेखि अधिकृत स्तरका सम्पूर्णमा हार्दिक सम्मान, आदर र सलाम ! नेपाल प्रहरी जहिल्यै आम नागरिकको शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न प्रयत्नशील रहिआएको छ । अपराध नियन्त्रण, कानुनको कार्यान्वयन, न्यायिक अनुशासन र सामाजिक सद्भाव कायम राख्न प्रहरी सधैँ अग्रपंक्तिमा रहँदै आएको छ । यसर्थ, कानुन कार्यान्वयन गर्न नेपाल प्रहरी सधैँ चनाखो, होसियार र संवेदनशील छ ।
सरकार आउँछ जान्छ, प्रशासनिक निकाय फेरबदल हुन सक्छन्, तर नेपाल प्रहरी जहिल्यै आफूलाई सुम्पिएको जिम्मेवारी निर्वहन गर्न कटिबद्ध र प्रतिबद्ध रहन्छ । विशाल संगठनमा एकाध व्यक्ति विशेषका कमजोरी हुन सक्छन्, तर उनको कमजोरीले गर्दा सिङ्गो संगठनको गरिमामा आँच आउँदै गर्दा संगठनलाई बेस्सरी दुखेको, संवेदनशील भएको प्रशस्त उदाहरण छन ।
यस्ता व्यक्तिगत स्वार्थमा संलग्न भई समग्र संगठनमा दाग लगाउनेलाई विभागीय कारबाही हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ । शान्ति, सुरक्षा र सार्वजनिक सम्पत्तिको रक्षा गर्नु प्रहरीको पहिलो जिम्मेवारी हो । जब समाजमा अराजकता, तोडफोड, आगजनी, हुलदङ्गा वा देशका महत्त्वपूर्ण प्रतिष्ठानहरूमा आक्रमण हुने स्थिति आउँछ, प्रहरी बल प्रयोग नगरी रहन सक्दैन । तर बल प्रयोगको हरेक प्रक्रिया नियमनबद्ध, कानुनी र क्रमबद्ध सिद्धान्त अनुसार हुन्छ ।
पहिलो चरणः प्रदर्शनकारीहरूलाई सम्झाइ–बुझाइ, चेतावनी र माइकिङमार्फत सचेत गराइन्छ । दोस्रो चरण (आवश्यक भएमा)ः यदि चेतावनीको अवज्ञा भई स्थिति नियन्त्रण बाहिर जान थाल्यो भने “न्यूनतम बल प्रयोगको सिद्धान्त” अनुसार क्रमशः पानीको फोहरा, अश्रुग्यास, लाठीचार्ज, रबर बुलेट र अन्ततः अत्यावश्यक अवस्थामा गोली चलाउन सकिन्छ । महत्त्वपूर्ण नोटः यो निर्णय कुनै व्यक्तिगत विवेकको हुँदैन; सम्बन्धित क्षेत्रीय सुरक्षा प्रमुख (ऋम्इ), सुरक्षा समितिको निर्णय र मैदानका कमाण्डरको प्रत्यक्ष आकलन अनुसार मात्रै हुन्छ । यस्तो बहु–स्तरीय संयन्त्रले नागरिक अधिकारको सुरक्षा र प्रहरीको जिम्मेवारीबीच सन्तुलन कायम गर्दछ ।
हालैका केही घटनामा प्रहरीको बल प्रयोगलाई लिएर भइरहेका आलोचनात्मक टिप्पणीहरू र छानबिनका नाममा गरिने मनोबल घटाउने व्यवहारहरू गम्भीर चिन्ताको विषय बनेका छन । कर्तव्य पालनका क्रममा जोखिम मोल्ने प्रहरीमाथि असमान्य दबाब सिर्जना गर्नु, राजनीतिक दृष्टिकोणबाट मूल्याङ्कन गर्नु वा सामाजिक माध्यमहरूमा चरित्रहत्या गर्नु — यी सबै कार्यले संस्थागत मनोबलमा प्रतिकूल प्रभाव पार्छ ।
यस सन्दर्भमा वर्तमान प्रहरी महानिरीक्षक श्री चन्द्र कुबेर खापुङ ज्यूले पनि “बल प्रयोगका नीतिहरूमा नीतिगत स्पष्टताको खाँचो छ” भनेर औँल्याउनुभएको छ, जुन सत्य र सान्दर्भिक टिप्पणी हो । राज्यको जिम्मेवार पक्षले बल प्रयोग, मानव अधिकार र सुरक्षा जिम्मेवारीबीचको सम्बन्धमा स्पष्ट, व्यावहारिक र अद्यावधिक नीति तय गर्न अब ढिलाइ गर्नु हुँदैन ।
कर्तव्य पालनको सिलसिलामा डिउटी निर्वाह गर्दा प्रहरीमाथि आइलागेका अपगाल, अपजसलाई व्यहोर्दै र विध्वंसकारी, अराजक, असभ्य र बेसुरका मिजासमा हुर्किएका केही समूहले आततायी हिसाबले तपाईंहरूमाथि अपमान, अनादर र घृणा गरि ज्यान समेत लिने आपराधिक कार्य गरेता पनि तमाम देशभक्त नेपालीले तपाईंहरूमाथि भरोसा र विश्वासका साथ हेरेका छन् ।
कर्तव्य पालको सिलसिलामा वीर गति प्राप्त गर्ने अमर प्रहरीप्रति असीम स्मरण र घाइते तथा अशक्त साथीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । अन्त्यमा, नेपाल प्रहरी केवल एक सुरक्षा निकाय होइन, यो राष्ट्रको स्थायित्व र शान्तिको मेरुदण्ड हो । कर्तव्य र जिम्मेवारीका प्रतीक यी जवान र अधिकारीहरूमा हाम्रो गर्व, सम्मान र समर्थन सधैँ रहोस ्। कुनै पनि चुनौती आए पनि प्रहरीको निष्ठा, अनुशासन र राष्ट्रप्रेम कहिल्यै विचलित नहोस् भन्ने शुभकामना । नेपाल प्रहरीका सम्पूर्ण जवानदेखि अधिकृतसम्म — हार्दिक सम्मान, आदर र सलाम !



