दाङ, १८ कात्तिक । दाङमा करिव एक महिनाको अवधिमा १३ सयभन्दा बढी मतदाता थपिएका छन् । असोजको १२ गतेदेखि कात्तिकको १७ गतेसम्म आठ सय ३३ जना पुरुष र चार सय ७१ जना महिला गरी जम्मा १ हजार ३ सय ४ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।
दाङमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा पाँच सय ५९ जना, तुलसीपुर उपमहानगरपालिकामा तीन सय ७५ जना, लमही नगरपालिकामा ७७ जना, राप्ती गाउँपालिकामा ५५ जना, गढवा गाउँपालिकामा ३९ जना, बङ्गलाचुली र शान्तिनगर गाउँपालिकामा २९/२९ जना, दंगीशरण गाउँपालिकामा २७ जना, बबई गाउँपालिकामा १९ जना र राजपुर गाउँपालिकामा सात जना नयाँ मतदाता थपिएका छन् ।
त्यसैगरी, सोही अवधिमा एक सय ८३ जनाले नामसारी गरेका छन् भने ८६ जनाले मतदाता नामावलीमा रहेको त्रुटि सच्याएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनमा आफ्नो भोटिङ अधिकार प्राप्त गर्नका लागि अपेक्षा गरे अनुसार दाङमा मतदाता नामावली दर्ताका लागि नआएको कार्यालयले जनाएको छ ।।



