हालैका केही घटनापछि कतिपयले मलाई सोध्छन् – “दाङमा त अहिले सुरक्षा राम्रो छैन रे ? घोराही भन्दा तुलसीपुर अझ जोखिमपूर्ण छ रे ? काम सकेर बुटवल वा नेपालगन्ज बस्न जानु पर्ने हो कि ?” त्यो सुन्दा म भित्रैदेखि सोच्न बाध्य हुन्छु – साँच्चिकै यस्तो हो त ? अनि म भने आत्मविश्वासका साथ भन्छु –“त्यस्तो होइन, दाङ सुरक्षित छ ।” दाङको परिचय डर होइन, गौरव हो । दाङको शक्ति विभाजन होइन, एकता हो । हामी दङालीहरूको पहिचान माटोसँगको सम्बन्ध र आपसी सह–अस्तित्वमा अडिएको छ । दाङको भूगोल, वातावरण, रहनसहन, संस्कार र संस्कृति – यी सबैले हामीलाई विशेष बनाएका छन् ।
यहाँको हावामा दाङकै माटोको गन्ध छ ! यहाँका मान्छेमा आत्मीयता छ र यहाँको समाजमा विविधतामाझ एकताको सुन्दर उदाहरण छ । तर पछिल्ला दिनहरूमा बाहिरबाट आउने कुरा “तुलसीपुर असुरक्षित छ”, “दाङमा समस्या बढ्दैछ” आदि आदि जस्ता हल्लाहरूले दाङको छविलाई असर गर्न थालेको महसुस हुन्छ । हो, हालैको जेन्जीको आन्दोलनमा भएको घुसपैठका घटनाले हाम्रो समाजलाई प्रश्नको घेरामा ल्याएको छ ।
त्यो दुःखद घटना हाम्रो इतिहासको कालो पाना हो तर त्यसले सम्पूर्ण दाङलाई प्रतिनिधित्व गर्दैन । बरु त्यसले हामी सबैलाई सचेत बनाएको छ कि सुरक्षा र शान्ति हरेक नागरिकको साझा जिम्मेवारी पनि हो । यदि दाङको कुनै भागमा असुरक्षाको भावना छ भने, त्यसलाई उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, होटल व्यवसायी, व्यापारी, सामुदायिक संगठन र स्थानीय निकायहरूले गम्भीर रूपमा लिनुपर्छ । “दाङ सुरक्षित छ” भन्ने सन्देश केवल प्रचार होइन – यो व्यवहारमा प्रमाणित गर्नुपर्ने विषय हो ।
दाङको समृद्धिको सपना त्यतिबेला मात्र साकार हुन्छ जब हामी आफैंले यो सहरलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन योगदान पु¥याउँछौं । यो केवल व्यापारिक वा लगानीको कुरा होइन,यो दाङबासीको प्रतिष्ठा र पहिचानसँग जोडिएको विषय हो । स्थानीय सरकार र प्रशासनले पनि आफ्नो पेरिफेरी सदैव सुरक्षित राख्नुपर्ने जिम्मेवारी वहन गर्नुपर्छ । सुरक्षाकर्मी, प्रहरी, प्रशासन सबैलाई शान्ति सुरक्षाको मामिलामा जवाफदेही बनाइनु जरुरी छ ।
बेला–बेला सुरक्षाका सामुदायिक मिटिङ, प्रेस मिट र जनसुरक्षाबारे चेतनामूलक कार्यक्रम सञ्चालन हुनु जरुरी छ । शान्ति सुरक्षा केवल राज्यको होइन, नागरिकको पनि कर्तव्य हो । देश अहिले संवेदनशील अवस्थाबाट गुज्रिरहेको छ । यस्तो समयमा हाम्रा गाउँ, टोल र समाजमा शान्ति र सुरक्षा कायम राख्नु– हाम्रो साझा जिम्मेवारी हो ।
किनभने जहाँ शान्ति हुँदैन त्यहाँ विकास सम्भव हुँदैन । र जहाँ सुरक्षा हुँदैन त्यहाँ शान्ति टिक्दैन ।
दाङ हाम्रो हो ! दाङवासीहरूको हो ! हामी सबैको साझा सपना हो यो दाङलाई सुरक्षित, सभ्य, शान्त र समृद्ध बनाउने । हामीले संसारलाई देखाउनुपर्छ दाङ अरूभन्दा फरक छ किनभने दाङ दङालीहरूले बनाउँछन् । विविधतामाझ एकता, संस्कृतिमाझ सम्मान र विपत्तिमाझ सहकार्य – यही हो दाङको पहिचान । हामीले हाम्रो दाङलाई यस्तो बनाऔं कि, बाहिरका मानिसहरू गर्वका साथ भनून् – “दाङ सुरक्षित छ, सुन्दर छ, सम्भावनायुक्त छ ।”
यो हाम्रो घर हो । यो हाम्रो गौरव हो । यो हाम्रो पहिचान हो ।
जय दाङ । जय दङाली एकता


