तुलसीपुर, ५ कात्तिक । माग अनुसारको सयपत्री (हजारी) फूल उत्पादन नभएपछि स्थानीहरु प्लाष्टिकको माला प्रयोग गर्न बाध्य भएका छन् । तुलसीपुर बजारका आसपासमा सयपत्री फूलको खेती गरिए पनि माग अनुसारको उत्पादन नहुँदा प्लाष्टिकको माला प्रयोग गर्न बाध्य भएको स्थानीयले बताएका छन् ।
तुलसीपुर बजारभरि हजारीको माला खोजेर नपाएपछि प्लाष्टिकको माला किनेको तुलसीपुर ९ की पुष्पा केसीले बताउनुभयो । एउटा प्लाष्टिकको मालालाई नागरिकले न्यूनतम ६० रुपैयाँदेखि ३ सय रुपैयाँसम्म किन्न बाध्य भएका छन् ।
बजार छेउछाउमा उत्पादन भएका पुष्पहरू हिजो नै बिक्री भएर सकिएको पुष्प खेतीमा लागेका युवाहरुले बताएका छन् । ‘यस बर्ष साढे ३ क्विन्टल हजारीका फूल बिक्री गर्यौ । प्रतिगोटा माला २ सय र किलोमा बिक्री गर्दा ५ सय रुपैयाँका दरले बिक्री गरेका थियौं । आजसम्म पनि धेरैले सम्पर्क गरिरहनु भएको छ । तर फुल छैन । पुर्याउनै सकिएन ।’ अश्वारामा सयत्रपत्री अर्थात हजारी फुलको खेती गर्नुभएका गणेश भण्डारीले भन्नुभयो ।
स्थानीय उत्पादनलाई प्रोत्साहित गर्न तुलसीपुर उपमहानगरपालिकाले प्लाष्टिकका मालामा प्रतिवन्ध लगाएको छ । तर बजार मागको अनुपातमा पुष्प उत्पादन नहुँदा भने सर्वसाधारण मर्कामा परेका छन् । बजारमा फूलहरू पनि नपाइने र प्रतिबन्धका बावजुत थोरै मात्रामा प्लाष्टिकका माला आयात गरेका व्यवसायीले मूल्य धेरै गर्दा सर्वसाधारण मर्कामा परेका हुन् ।
यद्यपी कतिपयले प्रतिबन्ध लगाएकै कारण प्लाष्टिकका माला पनि बजारमा नभइदिएको भए कतिपय दिदीबहीरुको भाइटीका खल्लो हुने बताएका छन् । ‘प्लाष्टिकका माला प्रयोग गर्न नदिने । भारतबाट आउने पुष्पका माला पनि जफत गरेर नष्ट गर्ने । अनि यहाँ उत्पादन भने नगर्ने । कम्तिमा यसको लेखाजोखा त सम्बन्धित निकायले गर्नुपर्ने हो नि ।’ व्यवसायी टोप बहादुर घर्तीमगरले भन्नुभयो ।








