२०८२ कार्तिक २१ गते शुक्रवार

सिंहदरबारका सैनिक कमाण्डर पक्राउ : ‘सरुवा’को आवरणमा हिरासत ?

काठमाडौं — भदौ २३ र २४ गतेको ‘जेन–जी’ आन्दोलनका क्रममा राज्यका प्रमुख कार्यालयहरूमा भएको विनाशपछि सेनाभित्रै हलचल सुरु भएको छ । नेपाली सेनाका तीन जना उच्च अधिकारीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएपछि फौजभित्र प्रश्नहरूको झरना खुलेको छ ।

सिंहदरबारस्थित नरसिंह दल गणका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) गणेश खड्का, सिन्धुलीको भवानीबक्स गणका तेजेन्द्र मगर र धनगढीस्थित सैनिक स्कूल, तेघरी ब्यारेकका शिव भडेललाई सेनाले भदौ ३१ गते भित्रभित्रै नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको स्रोतले जनाएको छ ।

सरुवा आदेश’पछि सिधा हिरासत

सैनिक सचिव विभागबाट जारी सर्कुलरअनुसार कर्णेल खड्कालाई धनकुटास्थित नम्बर २ बाहिनी अड्डा तोकिएको थियो । तर, सरुवाको सूचना जारी भएको केही घण्टामै उनी नियन्त्रणमा परे । सेनाले यो कार्यलाई “नियमित सोधपुछ प्रक्रिया” भनेको छ, तर आन्तरिक वृत्तमा यसलाई *‘गोप्य अनुशासनात्मक कारबाही’ का रूपमा हेरिएको छ ।

सिंहदरबारको आगलागी र सुरक्षा त्रुटि

खड्कामाथि आरोप छ— भदौ २४ गते सिंहदरबारमा भएको आगलागीका बेला उनले पर्याप्त सावधानी अपनाएनन् । सोही दिन उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र प्रधानन्यायाधीशलाई नरसिंह दल गणमै सुरक्षित राखेका थिए । तर, त्यही बेला सिंहदरबारभित्रको विनाश रोक्न नसक्नुले उनको भूमिकामाथि शंका थपिएको छ । त्यो दिन सशस्त्र प्रहरीका एसएसपी राजेश उप्रेतीले हवाई फायर गरी उपद्रवकारीलाई नियन्त्रणमा ल्याउँदा पनि सेनाको उपस्थिति नदेखिनु अर्को विवादको विषय बनेको छ ।

अन्य दुई कर्णेलमाथिका आरोप

सैनिक हिरासतमा रहेका अर्को अधिकारी तेजेन्द्र मगरलाई सिन्धुलीको भवानीबक्स गणमा कैदीबन्दीहरू भाग्दा रोक्न असफल भएको आरोप छ । उनलाई हाल नम्बर ५ बाहिनी अड्डा पठाइएको छ । तेघरी ब्यारेकका शिव भडेलमाथि भने ‘टिकटक काण्ड’ को छाया परेको बताइन्छ ।

सेनाभित्रको आलोचना र असन्तुष्टि

भदौ २३ र २४ का घटनामा सेनाको भूमिकाप्रति आम प्रश्न उठिरहेका छन् — किन फौजले सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतजस्ता संवेदनशील संरचना जोगाउन सकेन ? त्यो बेला भैरवनाथ गणको ठ्याक्कै अगाडि रहेको राष्ट्रपतिका कार्यालय शीतल निवाससमेत असुरक्षित बन्नु सेना नेतृत्वको कमजोरीको प्रमाणका रूपमा हेरिएको छ । तर सेनाले भने “त्यो दिनको परिस्थितिअनुसार सम्भव सीमा भित्र रहेर काम गरेको” दाबी गर्दै आएको छ ।

सेनाका सूचना अधिकारी सहायक रथी राजाराम बस्नेतले भने यी तीन अधिकारीहरूसँग “भदौ २३ र २४ का घटनासम्बन्धी सोधपुछ भैरहेको” जनाएका छन् । तर, यता स्रोतका अनुसार त्यही घटनाका बेला निर्णायक जिम्मेवारीमा रहेका तत्कालीन युध्दकार्य महानिर्देशनालयका रविन्द्र खत्री र बालाजूस्थित १ नम्बर बाहिनीपति सुनिलसिंह राठौरमाथि भने सोधपुछसम्म नभएकोले सेनाभित्र असन्तुलन र अन्यायको अनुभूति बढेको छ । जनआस्थाले खबर लेखेकाे छ । 

प्रकाशित मिति : २०८२ कार्तिक ३ गते सोमवार
प्रतिक्रिया