२०८३ कार्तिक ७ गते शुक्रवार

सामाजिक संजालमा रोजिनाले बोलेको ‘भ्रष्टाचार’ शव्द कै चर्चा

तुलसीपुर, २७ असोज । थाहा छै्न, मलाई रोजिना चौधरी को हुन्? कहाँ बस्छिन्, के गर्दैछिन् भन्ने । तर रोजिनाप्रतिको विरोध किन-किन मलाई नै गरेजस्तै महसुश भैरहेको छ । सायद म पनि थारु भएर नै होला । रोजिनालाई आएको विरोधले उनी मात्रै नभइ समग्र थारु समुदायको नै अपमान भैरहेको छ, जस्तै लाग्दै छ । जसले जति विरोध गरेपनि उनले चालेको यो कदम, उनले थालेको यो साहसले एक दिन पक्कै पनि सफलताको दिशा कोर्ने छ । रोजिनाले यो पाइलालाई सिकाइको एउटा तह अर्थात खुट्किलाको रुपमा लिनुपर्छ ।

सन्दर्भ नेकपा एमाले दाङले आइतबार घोराहीमा आयोजना गरेको जागरण सभाको हो । सभामा उमेरले २०/२१ वर्षको देखिने रोजिना चौधरीले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा एकाएक भाइरल भयो । सभामा उनले ‘‘एमाले र जेनजीलाई छुट्टाछुट्टै हो भन्ने बनाउन खोजिएको छ, म यसको घोर भ्रष्टाचार गर्न चाहन्छु । घोर भ्रत्सना गर्न चाहन्छु।’’, भनेकी छिन् ।

उनले जानाजान भाषणमा भ्रष्टाचार भन्न खोजेकी पक्कै पनि होइन । यदि ‘भ्रष्टाचार’ शव्द बोल्नै चाहेको भए पुनः ‘भ्रत्सना’ शव्द प्रयोग नै गर्दैनथिन् होला । उनले ‘घोर भ्रष्टाचार गर्दछु’ भने पनि उत्तिबेला नै भ्रत्सना गर्दछु भनेकी छिन् । यसले पनि पुष्टि गर्छ कि रोजिना गलत चाहेर बोलेकी होइनन्। हजारौँ मानिसहरुको भीडका विच भैरहेको सभामा बोल्दै गर्दा धेरैको मन पनि आत्तिन्छ । उनलाई पनि त्यसै भएको हुनसक्छ । धेरै भीडका विच मञ्चमा बोल्न सिक्दै गरेकी रोजिनाको साहसलाई भने अपमान गर्दै गर्दा उनको मातृभाषाको बारेमा पनि अध्ययन गरेको भए हुन्थ्यो, कि भन्ने मलाई लागेको छ ।

पहिलो कुरा त रोजिनाको मातृभाषा थारु हो भन्ने तपाइँ, हामी सबैले बुझ्नु पर्छ होला । रोजिनाले पनि मातृभाषा नभएर दोस्रो भाषामा आफ्नो विचार व्यक्त गर्दै थिइन् । मातृभाषा बाहेक अन्य जुनसुकै भाषा किन नहोस् मातृभाषीहरुको लागि दोस्रो भाषा सिक्न समय लाग्छ र बोल्न पनि केही समस्या हुने गर्दछ । थारु समुदायमा जन्मिएर त्यही वातावरणमा हुर्किएर विद्यालय जानथालेपछि सिकेको दोस्रो भाषा बोल्दा उनको अपमान किन ?फेरी उनी मञ्चमा बोल्दा बोल्दा भाषण गर्दा गर्दा निखारिएकी, अनुभवी त पक्कै होइनन् । त्यसैले उनले बिगारेको शब्द हाँसि मजाकको विषय बन्न सक्ला, तर बहसको विषय बन्न नसक्ने थारु संस्कृतिका जानकार माधव चौधरीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।

‘‘रोजिनाले बिगारेको शब्द हाँसि मजाकको विषय बन्ला, तर बहसको विषय होइन । यो ‘उज्जर गोन्या’वाली नानी मार्फत आफ्नो दलको लागि यहाँको ठुलै जनसंख्या भएको समुदायको भावना क्याच गर्ने प्रयास गर्दा ‘शब्द चिप्लिएको’ मात्र हो । त्यो समुदाय सबै भन्दा बढी यहि दलबाट ’भोट बैंक’को रुपमा प्रयोग हुँदै आएको छ, जुन दलसंग त्यो समुदायको जीवनस्तर र सम्मान कसरी सुधार गर्ने भन्ने कुनै योजना नै छैन, केहि स–साना फुटकर गतिविधि वाहेक संविधान, कानुन र नितिमा गर्नुपर्ने सुधार बारे कुनै योजना छैन। पार्टीको मुल नेतृत्व नै त्यस्तो छ, जसले समावेशीकरण भन्ने शब्द उच्चारण गर्न पनि चाहदैन, समानुपातिक भनेपछि इरिटेशन हुन्छ। त्यहि पार्टीको जिल्लाको नेतृत्व पनि त्यस्तो छ, जसले उहि ’उज्जर गोन्या’वाला प्रवेस गर्न सक्ने ढोकाबाट आफु छिर्छ, आफ्नो श्रीमती र बहिनी छिराउँछ । तैपनि त्यो दलले त्यहि समुदायका केहि ’बौद्धिक’हरुलाई संरक्षण गरेर र उनीहरूलाई मोहडा बनाएर त्यो समुदालाई भोट बैंकको रुपमा प्रयोग गर्न सफल भएको छ । यस्तो किन ? कहिले सम्म ? अब के गर्ने त ? बहस गर्नुपर्ने विषय यो हो ।’’ उहाँले लेख्नुभएको छ ।

यस्तै नेकपा एमाले प्रचार विभाग प्रमुख संगीत बस्यालले पनि सामाजिक संजालमार्फत रोजिनाले बोलेको कुरालाई लिएर विरोध नगर्न आग्रह गर्नु भएको छ । विरोध भन्दा रोजिनाको साहसको सम्मान गर्नुपर्ने भन्दै उहाँले लेख्नु भएको छ– ‘‘रोजिना चौधरीको मातृभाषा थारु हो , उनले नेपालीमा बोल्नु नै अर्को भाषामा बोल्नु हो, सकिन्छ पहिलो पटक मञ्चमा उक्लिएर आत्मविश्वास सहित बोल्ने शाहसको प्रशंसा गराँै , सकिदैन भ्रत्सना गर्छु भन्दा थारु बोली लर्वराएर भ्रष्टाचार भएको सहजै बुझिदैन र ? कुरा बुझि बुझि कति सस्तो आलोचना । एउटा अनुरोध छ , एक अबोध थारु छोरी चेलीको अपमान गर्नु अघि सोच्नुस् है ।’’

 

यति मात्रै नभइ थारु ग्यालरीको फेसबुक पेजमा पनि रोजिना चौधरी अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको भन्दै स्टाटस लेखिएको छ । एमालेको जेनजी समूहको तर्फबाट मन्तव्य राख्दै गरेकी रोेजिनाले, “एमाले र जेनजीलाई अलग पार्न खोजिएको प्रति घोर भ्रत्सना गर्न चाहन्छु” भन्ने क्रममा जिब्रो चिप्लिएर गल्तीवश “घोर भ्रष्टाचार गर्न चाहन्छु” भनिन्। उक्त क्षणको भिडियो सोही ठाउँमा उपस्थित कसैले खिचेर सामाजिक सञ्जालमा अपलोड गरेपछि ती मोडल अहिले चर्चाको शिखरमा छिन्। यो घटनापछि धेरैले उनलाई हाँसोको पात्र बनाएर भिडियो साझा गरे पनि, रोजिना चौधरी अझै सिक्दै गरेकी नयाँ पुस्ताकी युवती हुन् । थारु समुदायको सदस्य भएकाले आफ्नो मातृभाषा थारु भाषाबाट नेपाली बोल्दा उच्चारणमा केही कठिनाइ हुने स्वाभाविक हो। धेरैको धारणा अनुसार उनलाई जबर्जस्ती भाषण दिन लगाइएको जस्तो पनि देखिन्छ। भाषणको सानो त्रुटीका कारण भाइरल बनेकी रेजिनाले राजनीतिक मञ्चमा युवाहरूको सहभागिता बढ्दै गएको संकेत पनि दिएको छ।’’

यद्यपि जस्ले जसरी बुझेता पनि रोजिना सिक्दै गरेकी युवती हुन् । उनको प्रयास नै सफलताको भ¥याङ बनेको छ । यसरी नै सिक्दै जाने हो । ‘गल्ती नगरे सिकिदैन’ भन्ने उखान छ । त्यसैले सिकेर कोही पनि जन्मिएको हुँदैन, जन्मिसकेपछि सबै कुराहरु सिक्दै, सिक्दै गएर जीवनको उत्तरार्ध र अन्तमा पुगिन्छ । यो प्रकृतिको नियम नै हो ।।

प्रकाशित मिति : २०८२ असोज २७ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।