
काठमाडौँ — भारतको प्रहरी मुठभेडमा परेर एक जना नेपाली नागरिक मारिएका छन् । दिल्लीको जाङ्पुरास्थित डा. योगेशचन्द्र पौनको हत्यामा संलग्न भएको आरोप लागेका कैलालीका ३९ वर्षीय भीम महाबहादुर जोरा नयाँ दिल्लीस्थित आस्था कुन्ज पार्कमा सोमबार मध्यराति प्रहरीसंग भएको मूठभेडमा मारिएको दिल्ली प्रहरीका एक अधिकृतले बताए ।
‘उनी २०२४ को मे महिनादेखि नै मोस्ट वान्टेड थिए र उनको सूचना दिनेलाई १ लाख रुपैयाँ इनाम तोकिएको थियो,’ ती अधिकृतले भने, ‘सोमबार उनको मुभमेन्टको सूचना पाएपछि खोजीमा गुडगााव र दिल्ली प्रहरीको क्राइम ब्रान्चको संयुक्त टोली खटिएको थियो ।’
प्रहरीका अनुसार, गएराति १२ बजेतिर प्रहरी टोली उनी भए ठाउँमा पुगेको थियो । तर, उनले प्रहरीलाई उल्टै ६ राउन्ड गोली हानेको प्रहरीको दाबी छ । जवाफी कारबाहीमा इन्स्पेक्टर राजेन्दर सिंह र नरेन्द्र शर्माले ५ राउन्ड गोली हानेको प्रहरीको भनाइ छ । त्यसक्रममा गम्भीर घाइते उनलाई एआईआईएमएस अस्पतालको ट्रमा सेन्टरमा पु¥याइएको प्रहरीको भनाइ छ । तर, चिकित्सकहरुले उनलाई मृत घोषित गरेका थिए ।
जोराको साथबाट एउटा अटोमेटिक पेस्तोल, एउटा गोली, गोलीका खोकाहरु र लुटपाटमा प्रयोग हुने सामग्रीहरु बरामद भएको बताइएको छ । उनी भारतका विभिन्न सहरमा भएको ६ वटा अपराधका घटनामा जोडिएको समेत प्रहरीको भनाइ छ ।