२०८३ कार्तिक ७ गते शुक्रवार

थारु समुदायमा दशैँको संस्कार र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड

  तुलसीपुर, ९ असोज ।थारु समुदायमा दशैँको संस्कार र संस्कृति लोप हुँदै गएकोमा थारु समुदायका अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । तुलसीपुरमा भएको दशैँको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी थारु अगुवाहरुले पछिल्लो समय थारु समुदायको दशैँमा गरिने विभिन्न प्रक्रियाहरु युवा पुस्तामा हस्तान्तरण हुन नसकेकाले लोप हुँदै गएको औँल्याएका हुन् । अव दशैँ लगायत अन्य चाडपर्वहरुको बारेमा नयाँ पुस्तामा हस्तान्तरण गर्नु पर्नेमा उनीहरुले जोड दिएका छन् । थारु समुदायको कुनै पनि चाडपर्वहोस् या त भाषाको लिपि नभएका कारण पनि लोप हुँदै गएको र नयाँ पुस्ताले ग्रहण गर्न नसकेको औँल्याएका छन् । कतिपय अवस्थामा नयाँ पुस्ताले चासो नदिएकै कारण पनि हस्तान्तरण हुन सकेको छैन । दशैमा नाचिने ‘सखिया नाच’ बारे खोज–अनुसन्धान हुनुपर्नेमा पनि थारु अगुवाहरुले जोड दिएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका थारु कल्याणकारिणीका केन्द्रिय कोषाध्यक्ष चुर्ण बहादुर चौधरीले थारु समुदायको पहिचान बचाउनका लागि थारु भाषा, कला र संस्कृतिहरु पुस्तान्तरण गर्न आवश्यक रहेको बताउनुभयो । सो अवसरमा थारु पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष सन्तोष दहितले आवश्यक सुचना लिने कुरामा अझै अग्रसर हुन नसकेको बताउनुभयो । डिजिटल तथा प्रविधिको जमानामा प्रविधिको उपयोग गर्न नसकेको भन्दै सही कामका लागि प्रयोग गर्न सुझाव दिनुभयो । बुधबार नमुना भुँह्यार थान समिति तुलसीपुर ५ र थारु कल्याणकारी सभा क्षेत्र नं. ३ को संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको दश्या अर्थात दर्शै र दशैँमा नाचिने “सखिया नाच” पछिल्लो समय ओझेलमा पर्दै गएकोले यसको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नमुना भँुुह्यार थानका अध्यक्ष रामशरण चौधरीले जानकारी दिनुभयो । थारु अगुवाहरु श्रमलाल चौधरी, छोटीलाल थारु, सुन्दर चौधरी, जगधनी चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सो अवसरमा भाषाविद् रोहित चौधरीले थारु समुदायमा दशैँ पर्वको महत्व, मनाउने विधि र कारणबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा थारु समुदायमा दशैँको अवसरमा प्रस्तुत गरिने सखिया नाच, बर्किमार, सम्हैैटी गीत लगायतका प्रस्तुति देखाइएको थियो । थारु कल्याणकारी सभा क्षेत्र नं। ३ का अध्यक्ष मोहन चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नमुना भूँह्यार थानका उपाध्यक्ष नारायण चौधरीले गर्नुभएको थियो ।।  

प्रकाशित मिति : २०८२ असोज ८ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।