
चितवन, असोज ५ । मुग्लिन–नारायणगढ सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । शुक्रबार साँझ तुइन खोलाको नजिक खसेको ठूलो पहिरो पन्छाउने प्रयास भइरहे पनि ढुंगा झर्ने क्रम रोकिएको छैन । शनिबार दिनभर लोडर र एक्साभेटर प्रयोग गरी दुवैतर्फबाट काम भए पनि बेलुकी फेरि अर्को ठूलो पहिरो खसेपछि सडक खोल्ने कार्य अवरुद्ध भएको हो । त्यसपछि आइतबार बिहानैदेखि पुनः मेसिन परिचालन गरेर सडक खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
तर लगातार ढुंगा र माटो खसिरहेकाले जोखिमपूर्ण अवस्थामा काम गर्नुपर्ने बाध्यता छ । “थप पहिरो नझरे छिट्टै सडक सञ्चालनमा ल्याउन सकिन्छ,” कार्यालयले जनाएको छ । सडक अझै अवरुद्ध रहेकाले हजारौंको संख्यामा सवारी साधन बाटैमा रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।