
तुलसीपुर, २३ भदौ । उच्च अदालत तुलसीपुरले पश्चिम दाङको गहतेखोला–बाघमारे सडकको निर्माण कार्य रोक्न अल्पकालिन अन्तिरिम आदेश दिएको छ । गुरु प्रसाद सुवेदी र जिवराज केसीले आफुहरुको जग्गा बलजफ्ती मिचेर बाटो बनाउन लागेको भन्दै अदालतमा गत शुक्रबार निवेदन दिएपछि उच्चले यस्तो आदेश दिएको हो । आइतबार बसेको नर बहादुर खडकाको एकल इजलाशले निर्माणाधिन कामलाई रोकेर भदौ २९ गते छलफलका लागि दुबैपक्षलाई बोलाउन अल्पकालिन आदेश दिएको हो ।
सुवेदी र केसीले सडक पूर्वाधार कार्यालय, तुलसीपुर उपमहानगरका १, २ र ८ नम्बर वडा कार्यालय, निर्माण कम्पनी र उपभोक्ता समितिलाई विपक्षी बनाएर निवेदन दिएको अदालतका सूचना अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो । अश्वारा स्थित किरण शाहको घरदेखि मावि अश्वारा स्कुलको बिचमा सडकको निर्माण कार्य सुरु हुनै लाग्दा बाटोको नजिकका जग्गा धनीले उच्चमा निवेदन दिएका हुन । अश्वारा खानेपानी कार्यालयको नजिकमा जग्ग पर्ने गुरु प्रसाद सुवेदी नेपाली काँग्रेसका नेता र तुलसीपुरका गल्ला व्यापारी समेत हुनुहुन्छ ।
त्यसैगरी जिवराज केसी अश्वाराका स्थायी बसोबासी हुनुहुन्छ । केहिदिन अघि सडक छेउँमा जग्गा पर्ने विभिन्न व्यक्तीहरु बसेर सडकको निर्माण कार्य रोक्नका लागि सामूहिक छलफल समेत भएको थियो । अघिल्लो वर्ष नेपाली काँग्रेसका पूर्व नगर सभापति किरण बहादुर शाहले सडक स्तरनोन्ती गर्दा अवरोध गरेपनि यसपटक भने त्यस क्षेत्रमा सडक चौडा गरिएको छ ।
के भन्छन निर्माण व्यवसायी
यता निर्माण व्यवसायी सारदा निर्माण सेवाले काममा अवरोध गरे ठेक्काको काम क्यान्सील गर्ने बताएको छ । अश्वारामा सडक विस्तार गर्दा जान्नेसुन्नेबाटै अवरोध सृजना भएको बताउँदै लागातार यस्तै भएमा काम गर्न नसक्ने निर्माण व्यवसायी गेहेन्द्र गिरीले बताउनुभयो ।
‘अघिल्लो वर्ष गहतेखोलाबाट काम सुरु भयो । अश्वाराको उकालोमा गएर रोकियो । त्यसपछि पश्चिम तर्फ मेयर घनश्याम पाण्डेको घरदेखि सडक विस्तार गर्दै अघि बढ्यौं । यसपटक जहाँ विवाद भएको हो त्यहीबाट फेरि काम सुरु गर्दै थियौं अदालतको अन्तरिम आदेश आयो गरे । म आफ्नो काम गर्ने की अदालतमा मुद्दा बोक्न जाने ।’ व्यवसायी गिरीले भन्नुभयो ।
१६ करोडको योजना अलपत्र पर्ने खतरा
जग्गा विवादका कारण निर्माण व्यवसायीले बिचमै काम छोडे यो सडक अलपत्र पर्ने सम्भाना देखिएको छ । २ं०८२ पुस १९ गतेसम्म निर्माणको काम सक्ने गरि सारदा श्री निर्माण सेवाले २०८१ असार १९ गते १६ करोड ५० लाख ८ हजार ७ सय रुपैयाँमा ठेक्का लिएको थियो । सम्झौतामा गहतेखोला देखि चिरेघाटको बिच जंगलसम्म झण्डै ९ किलो मिटर सडकलाई नाला सहित १५ मिटर चौडा गर्ने १५ मिटर सडकको चौडा मध्य बीचको साढे पाँच मिटर भागलाई कालोपत्रे गर्ने उल्लेख छ । त्यसैगरी चिरेघाटको जंगलदेखि अगाडि बाघमारेसम्मको सडकलाई मर्मत मात्रै गरिने छ । गहतेखोला देखि खिलतपुर सम्मको दुरी १९ किलोमिटर छ । सडक अवरोध भएको खबर सुनेपछि स्थानीयहरु आक्रोशीत भएका छन् ।