तुलसीपुर । सोमबार दरखाने दिन, हिन्दू नारीहरुको महान पर्व तीजको रौनक चारैतिर छ । बजारका सबैजसो पसलहरुमा किनमेल गर्नेहरुको भीडभाड छ भने गाउँघरतिरका मानिसहरु तीजको नाच हुने ठाउँहरुमा पीङ हाल्ने र सरसफाइ गर्नमै व्यस्त छन् । गाउँदेखि शहरसम्म तीजको रौनक चलिरहँदा तुलसीपुर–४ बायखोलाका बादी समुदायलाई भने तीजको रौनकभन्दा पनि बिहान साँझको छाक कसरी जुटाउने भन्ने चिन्ता छ ।
बायोखोलाकी ज्ञानी बादी उमेरले ४६ वर्षकी हुनुभयो । सोमबार गाउँकै अन्य घर परिवारमा दरखाने चहलपहल चलिरहँदा उहाँको अनुहारमा भने त्यस्तो कुनै उत्साह थिएन । न त दरखाने कुनै तयारी थियो । सायद आफ्नो पारिवारिक अवस्थाबारे जानकारै भएर होला । साँझ बिहानको छाक टार्न समस्या परिररहेको बेला ज्ञानीलाई तीजको दर खानेभन्दा पनि भोक मेट्ने वातावरण सहजै बने हुन्थ्यो भन्ने चाहना मात्रै छ ।
उसो त उहाँको परिवारमा कुनै सीप नभएको भने होइन, ज्ञानीका श्रीमान जीते बादीले मादल बनाउने पेशा गर्दै आउनुभएको थियो तर पछिल्लो समय श्रीमान अशक्त भएपछि मागेर काम चलाउँदै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘आफ्नो सम्पत्ति छैन । सीप भएका श्रीमान् पनि अशक्त भएपछि मादल बनाउन छोड्नुभयो । खान परिहाल्यो, गाउँतिर माग्न हिंड्छु । आफूसँग कुनै सीप छैन, बाँच्नु त प¥यो ।’
गाउँकै सिर्जना बादीको परिवारमा पनि तीजको रौनकले छुन सकेको छैन । उत्पादन गर्नका लागि आफ्नो सम्पत्ति छैन । आयआर्जको अन्य कुनै माध्यम छैन चाडपर्व आएर गाउँघरमा उल्लास छाउँदा यो परिवारले पीडाको अनुभूति गर्नुपर्ने अवस्था छ । पछिल्लो समय आफूहरुले गर्दै आएको पेशा संकटमा पर्दै गएपछि साँझ बिहानको जोहो गर्र्र्नै धौ धौ परेकोले चाडपर्व आउँदा पनि खुशीको अनुभूति नहुने सिर्जनाले सुनाउनुभयो । ‘श्रीमानले मादल बनाउने र माछा मार्ने काम गर्नुहुन्थ्यो तर पछिल्लो समय मादल बिक्न छोडे । खोलामा पनि बिष हालेर माछा मारिदिंदा माछा पाइन छोडेपछि घरखर्च चलाउनै समस्या छ’– उहाँले भन्नुभयो– ‘आफूसँग पैसा भएपछि चाडपर्व आउँदा रमाइलो लाग्ने रहेछ । पैसा छैन, घरमा जे छ त्यसैले साँझ बिहानको छाक टार्ने हो । त्यसैले तीज आए पनि त्यति रमाइलो छैन ।’
ज्ञानी र सिर्जनाको मात्रै होइन, यो बायखोलामा बसोबास गर्ने १० घर परिवार बादी समुदायले पछिल्लो समय भोग्दै आएको समस्या हो । मादल बनाउने, जाल बुन्ने र माछा मार्ने पेशाबाट गुजारा गरिरहेको बादी समुदायको पेशा नै संकटमा पर्न थालेपछि अहिले चाडपर्व मनाउन भन्दा पनि दैनिकी चलाउनै समस्या भइरहेको स्थानीय ललिता बादीले बताउनुभयो । ‘समस्या त कति छन् कति तर ठूलो समस्या भनेको साँझ बिहानको छाक कसरी टार्ने भन्ने नै हो ।
त्यसमाथि चाडवाड आएको छ, आफूले त मन बुझाइएला तर केटाकेटीले रहर गर्छन् । कसरी सन्ताउने अर्को समस्या छ’– उहाँले भन्नुभयो– ‘पहिला पहिला त यो समयमा मादलहरु बिक्री हुन्थे, हामीले बुनेका जाल बिक्री हुन्थे र अलिअलि पैसा हुन्थ्यो तर अहिले बिक्री हुन छोडे, खोलामा माछा पाइन्थे र माछा मासु किन्नु पर्दैनथ्यो । अहिले माछा पनि पाइन छोडे । त्यसैले समस्या भएका हो ।’
वायखोलामा बसोबास गर्ने वादी समुदायले परम्परागत पेशालाई छोडेर अरु पेशा पनि अँगाल्न सकेको छैन । जसका कारण दैनिक साँझ बिहानको छाक टार्न समेत समस्या हुन थालेको छ । तीज पर्व खल्लो नहोस् भनेर वादी समुदायलाई तुलसीपुर–४ का स्थानीय शंकर चौधरीले जन्मदिनको अवसर पारेर सोमबार खाद्यान्न सहयोग गर्नुभयो । दाल, चामल, नुन, तेल लिएर बस्तीमा पुगेका चौधरीले एउटै समाजमा बसेपछि कसैले चाडपर्वको उल्लासमय तरिकाले बनाउने र कसैले साँ‘झ बिहानको छाक पनि पेटभरि खान नपाउने अवस्था नहोस् भनेर आफूले सक्दो सहयोग गरेको बताउनुभयो ।
बायखोलाका वादी समुदायलाई स्थानीयले बेला–बेलामा सहयोग गर्ने गरेका छन् तर राज्यले केही सहयोग नगरेको उनीहरुको गुनासो छ । यसअघि पनि बायखोलाका जीतबहादुर बादीको घरको चुहिने छानोमा टिन लगाएर सहयोग गर्नुभएका तुलसीपुर–७ जितपुर निवासी उपेन्द्र पौडेलले पछिल्लो पटक तीज पर्व नरमाइलो नहोस् भनेर खाद्यान्नको जोहो गर्नका लागि पहल थाल्नुभएको छ । तीज पर्व मनाउने शैली भड्किलो बन्दै गएको अवस्थामा अनावश्यक खर्च कटौती गरी विपन्न नागरिकलाई सहयोग गरी सामाजिक भावनाको विकास गराउन आवश्यक छ’– पौडेलले भन्नुभयो । आजको युगबोधमा एकराज भण्डारीले लेख्नु भएको छ ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।