२०८३ कार्तिक ७ गते शुक्रवार

 तुलसीपुरको कृष्णमन्दिरमा बिहानै देखि भक्तजनको घुँइचो

तुलसीपुर, ३१ साउन । तुलसीपुरको कृष्णमन्दिरमा बिहानै देखि भक्तजनहरूको घुँइचो लागेको छ । तुलसीपुर उपमहानगरपालिका –८ चन्द्रगन्ज स्थित राधाकृष्ण मन्दिरमा पूजाआराधना गर्नका लागि बिहानै देखि भक्तजनहरूको घुँइचो लागेको हो । प्रत्येक वर्ष कृष्णमन्दिरमा ठूलो मेला लाग्ने कृष्णमन्दिर व्यवस्थापन समितिका अध्यक्ष शोभाकर सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सल्यान, रोल्पा, पश्चिम दाङ, देखुरी लगायतका क्षेत्रबाट हजारौ भक्तजनहरु मन्दिर दर्शनका लागि आउने गर्दछन् । 

प्रत्येक वर्ष कृष्णजन्माष्टमी पर्वमा लाग्ने मेलामा करिब १५ देखि २० हजारसम्मले मन्दिरको दर्शन गर्ने गरेको अध्यक्ष सापकोटाले बताउनुभयो । यसैबीच दर्शनका लागि आउने नागरिकको सहजता र व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको सुरक्षा टोली र स्वयंसेवक परिचालन गरिएको छ । गाडी व्यवस्थापनका लागि दुई ठाउँ निशुल्क पार्किङको व्यवस्था गरिएको छ । मन्दिरको दक्षिण तर्फ र उत्तर तर्फ पार्किङ स्थल बनाइएको सचिव भूप बहादुर केसीले जानकारी दिनुभयो ।

भक्तजनहरूको सहजताका लागि शुद्ध पिउने पानीका लागि ट्याङ्कर र शौचालयको पनि व्यवस्था गरिएको छ भने आउजाउका लागि दुइवटा द्वार बनाइएको छ । त्यसैगरी गहतेखोलादेखि पातुखोला पुलसम्मको सडक जामलाई सहजता बनाउन ट्राफिक प्रहरी  परिचालन गरिएको छ ।  कृष्णमन्दिरमा कृष्णलिला, रथयात्रा र झुला देखाउनका लागि भारतबाट कलाकारहरूको टोली आएको छ भने लोपउन्मुख लाखे नाच, स्थानीय कलासंस्कृति र भेषभुषा झल्किने सांस्कृतिक कार्यक्रम तथा भजनकीर्तन गरिने सचिव केसीले बताउनुभयो । कृष्णमन्दिर २०२९ सालमा स्थापना भएको थियो । त्यसैगरी दाङका अन्य ठाउँमा रहेका कृष्णमन्दिरमा पनि भक्तजनहरू जाने गरेका छन् । 

प्रकाशित मिति : २०८२ साउन ३१ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।