२०८३ बैशाख ११ गते शुक्रवार

पातेटाकुरा पुलको काम एक वर्षमा २० प्रतिशत !

दाङ,१४ साउन । गहतेखोला–बाघारमारे सडक खण्डको पातेटाकुरा खोलामा निर्माणाधीन पुलको काम एक वर्षमा २० प्रतिशत भएको छ । निर्माण व्यवसायीले २०८२ पुस १५ गते भित्र निर्माण कार्य पुरा गर्ने गरि सडक पुर्वाधार विकास कार्यालय दाङसंग २०८१ असार १६ गते सम्झौता गरेको थियो । पुल निर्माणका लागि आर्थिक वर्ष २०८१/०८२ मा भ्याटसहित ४ करोड १० लाख ४४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । २० मिटर लम्बाइ रहेको पुलको १० मिटर चौडाइ भएपनि ढाई मिटर फुटपाथका लागि छुट्याएको छ ।

कामको गतिलाई हेर्दा आगामी पुस महिना भित्र पुलको निर्माण कार्य सम्पन्न हुने लक्ष्यण देखिदैन । पुल निर्माणका लागि फाउण्डेसनको काम सुरु भएको र अहिलेसम्म करिब २० प्रतिशत मात्रै काम सम्पन्न भएको कार्यालयले बताएको छ ।

स्थानीय चिन्तित
वर्षातको समयमा जोखिम मोलेर खोला वारपार गर्ने नागरिकहरू पुल बन्ने आशामा खुशी भएपनि अहिले निराश भएका छन् । अपेक्षा अनुसार काम नहुनु र खोलामा भएको कचवय भत्काएर डाइभर्सन गरेपछि वर्षातमा झनै जोखिम निम्तिएको स्थानीय निराश पाण्डेले बताउनुभो ।

“भएको बाटो पनि बिगारदिने अनि काम पनि द्रुत गतिमा नगर्ने । पैसा नभए किन सम्झौता गर्ने ? सरकार र निर्माण व्यवसायीका समस्या जनतामा पर्नु भएन नि । साँगुरो खोला छ । लेखतिर पानी पर्‍यो भने खोलामा बाढी आइहाल्छ । जनधनको क्षति भएपछि कसले व्यहोर्छ ?” स्थानीय पाण्डेले भन्नुभयो ।

सडकमा हिड्न थालेको करिब ५१ वर्ष पछि खोलामा पुल निर्माणका लागि खनखोरस गरेको देख्दा खुशी लागेपनि ढिलो गतिमा काम हुँदा दुःख लागेको शान्तिनगर गाउँपालिका –४ का धन बहादुर खडकाले बताउनुभयो । पुल निर्माण भएमा पातेटाकुरा, चिराघाट, जुम्लेकुला, बाघमारे लगायत उक्त सडकमा ओहरदोहर गर्ने हजरौ जनता लाभान्वित हुने खडकाले बताउनुभयो ।

बजेट सुनिश्चित नहुँदा काम हुन सकेन : सडक पूर्वाधार
यता सडक पूर्वाधार विकास कार्यालय दाङले बजेटको सुनिश्चित नहुँदा र गत वर्षको अन्तिम महिनामा सम्झौता गर्दा काम हुन नसकेको बताएको छ । रातो किताबमा बजेट विनियोजन भएपनि बजेटको सुनिश्चितता नभएका कारण काम गरेर बिल भुक्तानी नहुने भएपछि निर्माण व्यवसायीले काम नगरेको कार्यालय प्रमुख मनिष कुमार अर्यालले बताउनुभयो ।

“पोहर साल आर्थिक वर्षको लास्टमा सम्झौता भयो । सम्झौता अनुसार साउन, भदौ असोजमा काम हुँदै भएन । त्यो वर्ष बजेट जम्मा ६० लाख मात्रै थियो । ६० लाख बजेटले त्यसलाई १० प्रतिशत पेस्की दिन पनि नपुग्ने भयो । जसोतसो ३५ लाख पेस्की लगेपछि काम गर्नलाई जम्मा २५ लाख बच्यो । २५ लाखले काम गर भन्ने हाम्रो आँट पनि भएन । काम गर्ने हो, भुक्तानी हुन्छकी हुँदैन बिचरा ! यस्तो समस्या पातेटाकुरा पुलको मात्रै होइन दाङका धेरै पुलको छ ।” कार्यालय प्रमुख अर्यालले भन्नुभयो ।

बोर्ड सच्याउन निर्देशन
यसैबीच निर्माण कम्पनीले निर्माण स्थलमा राखिएको होडिङ बोर्डमा एक वर्ष बढाएर लेखेकाले त्यसलाई सच्यानउ कार्यालयले निर्देशन समेत दिएको छ । सम्झौता अनुसार २०८२ पुस १५ गतेभित्र निर्माण कार्य सक्नुपर्ने उल्लेख भएपनि बोर्डमा २०८३ असार १२ गते लेखिएको छ । कुनै पनि योजनाको काम गर्दा निर्माण स्थलमा सम्झौता मिति, योजनाको नाम, लगानी र निर्माण कम्पनिको नाम उल्लेख गर्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति : २०८२ साउन १४ गते बुधवार
प्रतिक्रिया