दाङ, ८ साउन । तुलसीपुर उपमहानगरपालिका –८ स्थित अश्वारामा ५ सय ३० मिटर सडक कालोपत्रे गरिएको छ । बाघमारे सडकदेखि चोरखोला जोड्ने ३ सय ५० मिटर सडकमा कालोपत्रे गरिएको हो । जसको चौडाइ ४ मिटर रहेको छ । त्यसैगरी ढोल्ले खोलादेखि मट्टीखन्नीे उकालो हुँदै अश्वारा स्कुल जोड्ने १ सय ८० मिटर सडकमा पनि कालोपत्रे गरिएको छ ।
जसको चौडाइ ५ मिटर रहेको इन्जिनियर सृजना शाहीले जानकारी दिनुभयो । त्यसैगरी मट्टिखन्नी उकालोमा ६० मिटर नाला समेत निर्माण गरिएको छ । ८ नम्बर वडा कार्यालयको २२ लाख ३८ हजार १ सय ६० रुपैयाँ लगानीमा भ्याली निर्माण सेवाले सडक निर्माण गरेको हो । सडक निर्माणका लागि कुल ३० लाखको इस्टमेट गरेपनि निर्माण सेवाले कम मूल्यमा ठेक्का लिएको थियो ।
भदौ मसान्त भित्र निर्माण कार्य पुरा गर्ने गरि निर्माण सेवाले गएको फागुन ११ गते तुलसीपुर उपमहानगरपालिकासंग सम्झौता गरेको थियो । हिउँदमा धुलाम्य र वर्षातमा हिलाम्य हुने सडकलाई पक्की गरिए पछि स्थानीय खुशी भएका छन् ।
“वर्षातको समयमा सडक हिलाम्य हुँदा खुट्टामा लगाउनु पर्ने चप्पल हातमा लगाएर हिड्नुपथ्र्यो । हिउँदमा गाडी मोटरले उडाएको धुलो घरभित्र पसेर हैरान हुन्थ्यो । अन्यत्रका सडक हेर्दा हाम्रो सडक यस्तो कहिले होला भन्ने लाग्थ्यो । धैर्यता गर्नुपर्दो रहेछ । ढिलो चाँडो विकासको काम हुँदो रहेछ । हामी खुबै खुशी भएका छौ ।” स्थानीय वीर बहादुर बिकले भन्नुभयो ।
यता वडा अध्यक्ष धर्मराज वलीले विकासका कामहरू अझै धेरै गर्नुपर्ने भएकाले पाँच सय मिटर बाटो पक्की बनाउँदैमा खुशी भइहाल्नुपर्ने अवस्था नरहेको बताउनुभयो । दुईवटा वडालाई गाभेर एउटा वडा बनाउँदा भूगोल धेरै ठूलो भएकाले जनताको अपेक्षा अनसार विकास निर्माणले गति लिन नसकेको अध्यक्ष वलीले बताउनुभयो ।
“सडक बनाउँदा सर्वसाधारण नागारिक देखि सवारी आवागमनमा सहज भएको छ । ढोल्ले खोलाको सडकले त झनै वैकल्पिक सडकका रुपमा काम गर्ने भएको छ । सडक चौडा गर्नेदेखि लिएर सम्पन्न गर्दासम्म स्थानीयको ठूलो सहयोग रहेको छ । निर्माण व्यवसायीले पनि समयमै काम सम्पन्न गर्नुभयो । वडाको तर्फबाट सबैलाई धन्यवाद छ ।” अध्यक्ष वलीले भन्नुभयो ।


















