२०८३ जेष्ठ २४ गते आइतवार

महिलाहरुलाई अचार बनाउने तालिम प्रदान

तुलसीपुर, १८ असार । दाङको तुलसीपुरमा रहेको तुलसी सामाजिक विकास केन्द्रले महिलाहरुलाई १५ दिने अचार बनाउने तालिम प्रदान गरेको छ । सो अचार बनाउने तालिम बुधबार एक कार्यक्रमका विच समापन गरिएको छ । संस्थाका अध्यक्ष ओड बहादुर भण्डारी (गणेश) को अध्यक्षता तथा लुम्बिनी प्रदेश सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गिरीराज पाण्डेको प्रमुख आतिथ्यतामा तालिम समापन भएको हो ।

तालिम समापनको अवसरका बोल्दै डिभिजन प्रमुख पाण्डेले तालिममा सिकेको सीपलाई व्यवहारमा कायान्वयन गर्न सुझाव दिनुभएको छ । तालिम लिएर प्रमाण पत्र प्राप्त गरेर मात्रै नहुँने भन्दै सिकेको सीपलाई उद्यममा जोडेर आर्थिक रुपमा सक्षम हुन पनि सुझाव दिनुभयो । अचारको व्यवसाय राम्रो भएकाले व्यवस्थित रुपमा संचालन गर्न सके अचार उद्यमी बन्न सकिने उहाँले बताउनु भयो । अरूको सहयोगले मात्र नभइ आफै तत्पर भएर अघि बढ्नुपर्ने भन्दै यो तालिमले उद्यमी बन्ने बाटो देखाएको बताउनु भयो ।

तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिका सदस्य लालमती भण्डारीले तालिममा सहभागी महिलाहरूको समूह बनाएर व्यवसायिक अचार उत्पादन सुरु गर्न आग्रह गर्नुभयो । साथै, त्यसका लागि तुलसीपुर उपमहानगरपालिकाले आवश्यक बजेट छुट्याउने प्रतिबद्धता पनि जनाउनु भयो । कार्यपालिका सदस्य वडा नं ६ की सदस्य यमुना परियारले सिप सिकेका महिलाहरूलाई आयआर्जनसँग जोडेर अघि बढ्न आग्रह गर्दै तालिमको प्रभावकारी उपयोग गर्न सुझाव दिनुभयो । तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव केशवराज केसीले व्यवसायिक सोच भएका जो–कोहीलाई संघले साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लुम्बिनी प्रदेश अन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय, तुलसीपुरको सहयोग तथा तुलसी सामाजिक विकास केन्द्रको आयोजनामा सम्पन्न तालिमले सहभागी महिलाहरूमा अचार उद्यमी बनेर आत्मनिर्भर बन्ने आत्मविश्वास जागेको बताएका थिए ।तालिममा सहभागी यमुना नेपालीले अचार बनाउने सीपमार्फत गृहिणीहरूलाई व्यवसायतर्फ उन्मुख गराउन सहयोग पुगेको बताउनुभयो । उहाँले अचार उद्यमी बन्नका लागि आत्मविश्वास जागेको समेत बताउनुभयो । शुशिला थापा मगरको प्रशिक्षणमा सम्पन्न उक्त तालिममा तुलसीपुरका ५,६,८,९ र १२ वडाबाट गरी ६२ जना महिलाहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ असार १८ गते बुधवार
प्रतिक्रिया