
काठमाडौँ — “ड्रिमलाइनर” भनेर चिनिने बोइङ ७८७-८ विमान भारतको अहमदाबादमा दुर्घटना भएपछि बोइङ कम्पनी फेरि एकपटक आलोचनाको घेरामा परेको छ । दुर्घटनाको खबर सार्वजनिक भएसँगै कम्पनीको सेयर मूल्य ८ प्रतिशतले घटेको छ, जुन पछिल्लो केही महिनाको सबैभन्दा ठूलो एकदिने गिरावट मानिएको छ।
बिहीबार दिउँसो एयर इन्डियाको लण्डन गन्तव्यका लागि उडेको विमान टेक्नासाथै दुर्घटनामा परेको थियो । २४२ यात्रु सवार विमान अहमदाबाद विमानस्थल नजिकैको बीजे मेडिकल कलेजको होस्टेल भवनमा खसेको भारतीय अधिकारीहरूले जनाएका छन् । दुर्घटनाको कारण र क्षतिको विवरण हालसम्म पूर्णरूपमा सार्वजनिक गरिएको छैन, तर प्रारम्भिक तथ्यांकले बोइङको “ड्रिमलाइनर”मा देखिएको प्राविधिक त्रुटिलाई नै संकेत गरिरहेको छ।
यो दुर्घटना बोइङको प्रतिष्ठामा अझ ठूलो धक्का हो । ७८७ ड्रिमलाइनर अहिलेसम्म सुरक्षित श्रेणीमा गनिएको भएपनि अब यसको विश्वसनीयता समेत प्रश्नचिन्हमा परेको छ । मार्चदेखि मेसम्म अमेरिकन, इतिहाद, युनाइटेड एयरलाइन्सका बोइङ विमानहरू विभिन्न दुर्घटनामा परेका छन्, जसले कम्पनीलाई निरन्तर संकटमा राखेको छ।
बुधबार २१७ डलरमा बन्द भएको बोइङको सेयर मूल्य बिहीबार बिहान बजार खुल्दा १९६ डलरमा झर्यो। विश्लेषकहरूका अनुसार, दुर्घटनापछि लगानीकर्ताहरूबीच कम्पनीको दीर्घकालीन स्थायित्वप्रति शंका बढेको छ।
बोइङको इतिहासमा ७३७ म्याक्स विमान दुइटा घातक दुर्घटनापछि वर्षौँसम्म ग्राउन्ड गरिएको थियो। हालै नासाको स्पेस मिसनमा प्रयोग गरिएको बोइङको अन्तरिक्ष यानमा देखिएको गम्भीर समस्या र त्यसले अन्तरिक्ष यात्रीलाई महिनौँसम्म फर्कन नसक्ने स्थितिमा राख्नुले पनि कम्पनीको प्रविधिप्रति गम्भीर प्रश्न उठाएको छ।
बोइङले गत वर्ष नेतृत्वमा परिवर्तन गर्दै केली ओर्टबर्गलाई प्रमुख कार्यकारी बनाएको थियो । तर, अहिलेको घटनाक्रमले उनको नेतृत्वमाथि थप दबाब सिर्जना गरेको देखिन्छ। कम्पनीको ब्रान्ड, सेयर मूल्य र प्राविधिक क्षमताले गम्भीर मोड लिइरहेको छ — जसको असर विश्वभरका उड्डयन सुरक्षा नियामक, एयरलाइन्स र यात्रुहरूको विश्वासमा प्रत्यक्ष पर्न सक्छ।