तुलसीपुर,१४ वैशाख । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा वलीले जेष्ठ १५ गते ‘काठमाण्डाै एमालेको कब्जामा हुनुपर्छ’ भनेको कुरा यतिबेला चर्चामा छ । याे भनाईकाे समर्थन र विरोधमा आवाजहरू सुनिएका छन् । सत्ता सहयात्री काङ्ग्रेसका केही जिम्मेवार नेताले पनि याे भनाइको घुमाउरो तरिकाले विरोध गरेका छन् । केपी शर्मा वली गणतन्त्र नेपालका प्रधानमन्त्री मात्र होइनन् । उनी नेकपा एमालेकाे अध्यक्ष पनि हुन् भन्ने कुरा हेक्का राख्नुपर्छ । उनले कुनै सरकारी कार्यक्रममा नभई पार्टीकाे कार्यक्रममा याे कुरा बोलेका हुन् । ७९ काे निर्वाचनमा सबैभन्दा ठुलो दल (समानुपातिक भोटका आधारमा ) र अहिले सरकारको नेतृत्व गरेको पार्टी भएकाले पनि गणतन्त्रको रक्षा गर्ने प्रमुख जिम्मेवारी नेकपा एमालेको काँधमा छ ।
२०६२/६३ काे जनआन्दाेलनले फालेको तानाशाही राजतन्त्र ब्युँताउने दुष्प्रयास स्वरूप जेष्ठ १५ गते राजावादीहरूले काठमाडौंमा प्रदर्शन गर्ने उद्घोष गरिसकेका छन् । यस अघि चैत्र १५ मा राजावादीले काठमाण्डुको तिनकुनेमा गरेको प्रदर्शन कति अराजक र हिंस्रक थियाे हामीले देखिसकेका छाै । भिड देखाएर धमिलो पानीमा माछा मार्नेहरूका लागि केपी ओलीको भनाइले निद्रा हराएको छ । किनकि जेष्ठ १५ मा राजावादी भन्दा नेकपा एमालेले निकालेका जुलुस ठूला अवश्य हुनेछन् । तसर्थ पनि मनोवैज्ञानिक रूपमा राजावादीहरूलाई साईजमा ल्याउन वलीले यस्ताे बोलेकाले सबैले बुझेका छन् । भलै शब्द चयनमा कब्जाको सट्टा सडक ढाक्नुपर्छ भनेकाे भए राम्राे हुन्थ्यो होला । तर जे होस् एमालेको याे घोषणाले राजावादी र प्रतिस्पर्धी दलको मुटुमा चिसो पसेको छ ।
केही दलका नेताहरू देशमा सधै अस्थिरता चाहिरहने र त्यसमा सँधै आफु रमाइरहन बानी नै परिसकेका छन् । अझ विदेशीको इसारामा देशलाई सधै प्रयोगशाला बनाइरहेको कुरा पत्रकार सुधीर शर्माको प्रयोगशाला किताब पढेपछि पनि प्रष्ट हुन्छ । दशकौं लामो जनताको त्याग र बलिदानले ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र दिवशकाे दिन नेकपा एमालेले जनता कार्यकर्ता सडकमा उतारेर खुसियाली मनाउन नपाउने हाे र ? यही व्यवस्थामा चुनाव लडेर मन्त्री पद पनि खाने अनि सडकमा उपद्रो गर्नेहरूका लागि सडक खाली राख्नु किमार्थ हुँदैन । याे व्यवस्थामा ज्ञानेन्द्र शाह पनि चुनाव लडेर प्रधानमन्त्री बन्न सक्छन् । तर कुनै परिवारमा जन्मदैमा राजा महाराजा हुने व्यवस्था नेपालको संविधानले दिदैँन । दुईतिहाइ बहुमत लिएर संविधान संशोधन गरेर राजा हुन सबैलाई खुला नै छ ।
गणतन्त्रकाे तुलनामा राजतन्त्र कुनै पनि बहानामा राम्रो हुँदै होइन । व्यवस्था राम्राे हुँदा हुँदै पनि नेताहरूको कार्यशैलीले जनतामा केही निराशा पक्कै छ नै । तर गणतन्त्रमा केही नै भएन भन्नेहरू आफूले तर मार्न नपाएकाहरू हुन् । यही व्यवस्थामा नेताहरूको कार्यशैली सच्चिन जरूरी छ । हामी तल बसेर जति राम्म्राे काम गर्दा पनि माथिका नेताहरूले गलत काम गर्दा व्यवस्था प्रति नै प्रश्न उठ्नु देशकाे हितमा छैन । शीर्ष नेताहरूले यसलाई गम्भीरतापूर्वक लिनैपर्छ
गणतन्त्र जनताको तन्त्र अथवा (जनताको राज्य) हाे । जहाँको शासनतन्त्रमा देशको सर्वोच्च पदमा आम जनताबाट कुनै पनि व्यक्ति पदासीन हुनसक्छ। यसको विकल्प राजतन्त्र कदापी हुन सक्दैन । राजतन्त्र ( मोनार्की / monarchy ) शासन प्रणाली हो, जसमा एक व्यक्ति (राजा) शासनको सर्वेसर्वा हुन्छ। राजा शासित जनताले चुनेका हुँदैनन् तर वंशानुगत हुन्छन् । कुनै वंशमा जन्मिदैमा राजा बन्ने अबकाे नेपाली समाजले स्विकार्न सक्दैन । त्यसैले जेष्ठ १५ गतेलाई जनताले जितेकाे दिनकाे रूपमा उत्सवका रूपमा मनाउँदै नयाँ पुस्तालाई राजतन्त्रकाे ज्यादती र गणतन्त्रका उपलब्धीका बारेमा बुझाउँ ।
भण्डारी नेकपा एमालेका युवा नेता तथा तुलुिपुर उपमहानगरपालिका वडा नम्वर ६ का अध्यक्ष हुन् ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।