लुम्बिनी प्रदेश सरकारको बजेट खर्चमा सुधार

दाङ, १० जेठ ।  चालु आर्थिक वर्ष सकिन दुई महिना मात्रै बाँकी रहँदा लुम्बिनी प्रदेश सरकारले ४६ प्रतिशत बजेट खर्च गरेको छ । लुम्बिनी प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय बुटवलका अनुसार चालु आवको वैशाखसम्मको १० महिनामा चालु खर्च ४८।१० प्रतिशत र पुँजीगततर्फ ४५।५० प्रतिशत गरी कुल ४६ प्रतिशत खर्च भएको हो । प्रदेश सरकारले चालु आवमा ३८ अर्ब ९७ करोड ९० लाख रुपियाँ बराबरको बजेट ल्याएकोमा १० महिनामा १८ अर्ब १० करोड ५७ लाख रुपियाँ खर्च भएको छ  । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख रुपियाँ बजेट रहेकोमा वैशाख मसान्तसम्म ११ अर्ब १८ करोड ५९ लाख खर्च भएको छ  ।

त्यसै गरी चालुतर्फ १४ अर्ब ३८ करोड ४१ लाख बजेट रहेकोमा छ अर्ब ९१ करोड ९१ लाख रुपियाँ खर्च भएको छ तर प्रतिशतका आधारमा चालु आवको १० महिनाको खर्च गत आवको भन्दा धेरै हो । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय बुटवलका प्रमुख दीपक ज्ञवालीले गत आवको वैशाख मसान्तसम्मको खर्चभन्दा चालु आवको १० महिनाको खर्च छ प्रतिशतले बढी भएको बताउनुभयो । उहाँले अहिले अधिकांश निर्माणको काम चलिरहेको र आवको अन्तिम महिनामा निर्माणको काम सकिएर सबै हिसाबकिताब फस्र्योट हुने भएकाले अब खर्च प्रतिशत बढ्ने बताउनुभयो  ।।

प्रकाशित मिति : २०८२ जेष्ठ १० गते शनिवार
प्रतिक्रिया