दाङ, २६ वैशाख । बजेटको तयारी हुँदै गर्दा दाङ जिल्लामा विमानस्थलको विषय जोडतोडले उठ्न थालेको छ । विभिन्न राजनीतिक दल र संघ संस्था मात्रै होइन व्यक्तिगत रुपमा पनि दाङ जिल्लामा एयरपोर्ट आवश्यक रहेको कुरामा लविङ हुन थालेको छ । खासगरी तुलसीपुरमा रहेको एयरपोर्टको स्तरवृद्धि गरेर नियमित उडानको लागि पहल भइरहेको छ ।
तुलसीपुरमा विमानस्थल विस्तार र ठूला जहाज बस्न मिल्ने गरी बजेट विनियोजनाका लागि लागिरहनुभएकी नेकपा एमालेकी नेतृ कोमल ओलीले सोको पुनः पहल गर्नुभएको छ । राष्ट्रिय सभाको सदस्यका रुपमा रहेको समयमा पनि उहाँले टरिगाउँ एयरपोर्टको कुरा पटक पटक उठाउनुभएको थियो । राजकीय जिम्मेवारी नभएको अवस्थामा पनि उहाँले एयरपोर्टको विषय उठाउन छोड्नु भएको छैन ।
सोही क्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा पूर्व राष्ट्रिय सभा सदस्य कोमल ओलिले दाङको प्रमुख पूर्वाधार सपना मानिएको टरिगाउँ विमानस्थलको विस्तारका लागि प्रधानमन्त्रीसंग भेट गर्नुभयो । बुधबार प्रधानमन्त्रीलाई भेटेर आगामी बजेटबाट विशेष व्यवस्थाका लागि माग गर्नुभयो । प्रधानमन्त्रीलाई भेटेर बजेटका बारेमा ध्यानाकर्षण गराएको उहाँले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुभएको थियो ।
उहाँले प्रधानमन्त्री ओलीलाई भेटेर विमानस्थलको विस्तारका लागि आवश्यक बजेट विनियोजन गर्न माग गर्दै औपचारिक ज्ञापन पत्र बुझाउनुभएको हो । ओलीले बुझाउनुभएको ज्ञापन पत्रमा दाङको भूगोल, विकास सम्भावना र विमानस्थल विस्तारको महत्व उल्लेख गर्नुभएको छ । नेतृ कोमल वली प्रधानमन्त्री केपी शर्मा वलीको नजिकको पात्र भएका कारण एयरपोर्ट बन्ने कुरामा कुनै दुविदा नभएको तुलसीपुरबासीले बताउने गरेका छन् ।





