तुलसीपुर, २४ वैशाख । दाङको तुलसीपुरमा प्रथम राष्ट्रिय खोखो प्रतियोगिता सञ्चालन हुने भएको छ । खोखो संघ दाङले आज तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी यसबारे जानकारी दिएको हो । प्रथम खुल्ला पुरुष राष्ट्रिय खोखो प्रतियोगिता यही बैशाख २६ गतेदेखि २८ गतेसम्म हुने दाङ जिल्ला खोखो संघका अध्यक्ष बालकृष्ण शाहले जानकारी दिनुभयो । तुलसीपुरमा रहेको अरनीको मैदानमा हुने प्रतियोगितामा सातवटै प्रदेश र एउटा विभागिए टिम गरि ८ वटा टिमको सहभागिता रहने भएको छ । अहिलेसम्म आर्मीसहित तीन टिम तुलसीपरमा आईसकेको र अन्य टिम पनि आउने क्रममा रहेको उहाँको भनाई छ । खोखो प्रतियोगितामा देशैभरका खेलाडीहरु दाङको तुलसीपुरमा आउने भएका छन् । खोखो खेल नेपालमा अलि पछाडी परिरहेको भन्दै यसलाई स्थापित गर्नका लागि राष्ट्रिय स्तरको खेल आयोजना गरिएको भन्दै उहाँले नेपालभर अहिलेसम्म तीन वटा लिगका खेल आयोजना गरिएको बताउनुभयो ।
उहाँका अनुसार खेलमा सहभागी हुने खेलाडीहरुलाई खाने बस्नेसहित आउने जाने यातायातको समेत व्यवस्था गरिएको छ । त्यस्तै प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्धितिय पुरस्कार ३० हजार र तृतिय पुरस्कार २० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको छ । खेलका लागि प्रत्येक प्रदेशबाट १२ जना खेलाडी र एक जना कोच आउने भएका छन् । प्रतियोगिता सञ्चालनका लागी २७ लाख ६० हजार रुपैया लाग्ने अनुमान गरिएको छ । जसमा तुलसीपुर उपमहानगरपालिकाले ५ लाख र अन्य बिभिन्न निकायबाट सहयोग संकलन गरि अहिलेसम्म करिब ९ लाख रुपैया संकलन भएको छ । बाँकी रकम पनि संकलनको क्रममा रहेको बताइएको छ । खोखो संघका केन्द्रीय सदस्य उषा कुँवर मगरलगाएतको सहभागिता रहेको पत्रकार सम्मेलन कार्यक्रमको सहजीकरण खेल पत्रकार संघ दाङका अध्यक्ष लक्ष्मण बस्नेतले गर्नुभएको थियो ।।





