शारदा नगरपालिकामा १ करोडभन्दा बढीको मनोमानी खर्च !

दाङ, ८ बैशाख । सल्यानको शारदा नगरपालिकाले सार्वजनिक खरिद ऐन र नियमावलीको बेवास्ता  गर्दै कोटेशन प्रणालीमार्फत १ करोड रुपैयाँभन्दा बढीको काम मनपरी ढंगले सम्पन्न गरेको तथ्य महालेखा परीक्षकको प्रतिवेदनमार्फत सार्वजनिक भएको छ ।  महालेखाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नगरपालिकाले एउटै प्रकृतिका योजनालाई साना–साना भागमा विभाजन गर्दै कोटेशन मार्फत एक करोड १० लाख ९१ हजार ६ सय १९  रूपैयाँको काम गरेको उल्लेख छ ।  यस्तो कार्य कानुनविपरीत मानिन्छ र यसले पारदर्शिता तथा उत्तरदायित्वको गम्भीर उल्लङ्घन गरेको विज्ञहरू बताउँछन् ।

विवादास्पद खर्च विवरण
पालिकाले डेस्कटप तथा ल्यापटप खरिद  ६ लाख ६५ हजार ५ सय ७०, ल्यापटप तथा कार्यालय सामग्री २ लाख २९ हजार ६ सय ७१, फर्निचर खरिद– ९ लाख ९८ हजार ७ सय ५०, मोटरसाइकल खरिद ६ लाख ४९ हजार ९००, सल्यानि मसानघाट प्रतीक्षालय निर्माण ३ लाख ८७ हजार ५ सय २०, खैराबाङ मन्दिरको पर्खाल निर्माण, ९ लाख ६८ हजार ९ सय १८ रुपैयाँ खर्च गरिएको छ ।

त्यसैगरी गौशाला निर्माण तथा व्यवस्थापन ९ लाख ७३ हजार ८ सय ६९, अटोभिलेज तथा कल्भर्ट/ खोला नियन्त्रण ९ लाख ६१ हजार ७ सय ७६, ढल व्यवस्थापन ४ लाख ७४ हजार ३ सय ९०, खलंगा बसपार्क स्लाव निर्माण ७ लाख ७२ हजार २८, थापा कजेरी पहिरो नियन्त्रण ४ लाख ८५ हजार ६ सय ५३, भगवती खोलामा कजवे निर्माण  ९ लाख ५८ हजार ६ सय ५३, बरलाको सडकदेखि एलिसा होटल हुँदै बोर्डिङसम्म स्लाव निर्माण ९ लाख ६० हजार ३ सय २०, भगवती खोलामा पर्खाल निर्माण ९ लाख ७२ हजार ८०० र बसपार्क र बजार सरसफाइ ८ लाख ९४ हजार ९९ रुपैयाँ खर्च भएको छ ।  योजनाहरूमा एक समान प्रकृतिको निर्माण कार्य, सामग्री खरिद तथा सेवाहरू समेटिएका छन्, जसलाई टुक्राटुक्रा गरी रकम सीमा भित्र्याउने प्रयत्न गरिएको देखिन्छ ।

  • कानुनी व्यवस्था के छ ?
    सार्वजनिक खरिद ऐन २०६३ को दफा ८(२) अनुसार समान प्रकृतिका योजनाहरूलाई टुक्रयाएर कोटेशन मार्फत खरिद गर्न पाइँदैन । सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ (१) (ख) अनुसार एक आर्थिक वर्षमा पाँच लाख रुपैयाँभन्दा बढी रकम खर्च गर्दा सिलबन्दी दरभाउपत्र प्रक्रिया मार्फत खरिद गर्नुपर्ने प्रावधान छ । तर सारदा नगरपालिकाले न त कुनै एकीकृत खरिद योजना बनाएको छ, न त सिलबन्दी टेण्डर प्रणाली अपनाएको छ । बरु, कानुनी प्रक्रियाबाट जोगिनका लागि योजनालाई कृत्रिम रूपमा सानो बनाउँदै कोटेशन मार्फत मनपरी खर्च गरेको देखिन्छ ।

के भन्छन् नगरवासी : आर्थिक मिलोमतोमा कार्यकर्ता पोस्ने  काम भयो 

यता शारदा नगरवासीले आर्थिक चलखेलका आधारमा कार्यकर्ता पोस्ने काम भएको बताएका छन् ।  ‘शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले पदको दुरुपयोग गरेर आर्थिक मिलोमतोमा कार्यकर्ता पोस्ने काम भएको छ । यसको छानबिन हुन आवश्यक छ । जो जान्ने उही भनेको नमान्ने भने झै भएको छ । मनपरी गर्ने छुट कसैलाई छैन । आर्थिक मिलोमतोमा हुने यस्ता कामलाई रोक्न अब नगरवासी जनता जाग्नुपर्ने बेला भएको छ ।’ स्थानीय रामबहादुर खत्रीले भन्नुभयो ।

सार्वजनिक वित्त व्यवस्थापनमा पारदर्शिता र जवाफदेहिता कायम राख्न कानुनी प्रक्रिया पालना गर्नु अपरिहार्य हुन्छ । तर शारदा नगरपालिकाले महालेखा कार्यालयकै निगरानीमा रहेका ऐन, नियम र प्रक्रियाको उल्लङ्घन गर्दै मनलाग्दी खर्च गरेको देखिनु गम्भीर लापरवाही र भ्रष्ट अभ्यासको सङ्केत भएको नगरवासीले टिप्पणी गरेका छन् । 

चवन्नी पैसा इधरउधर भएको छैन : मेयर भण्डारी 
यता शारदा नगरपालिका मेयर प्रकाश भण्डारीले योजना खरिद प्रकृयाको बारेमा आफूलाई भन्दा पनि प्रमुख प्रशासकीय अधिकृतलाई थाहा हुने बताउनुभयो । पालिकालाई चुस्त दुरुस्त हिसाबले चलाएको दाबी गर्दै मेयर भण्डारीले चवन्नी पैसा लेनादेना इधरउधर  नभएको बताउनुभयो ।

‘मैले बजेट विनियोजन गर्ने हो । आवश्यक सामान खरिद प्रमुख प्रशासकीय अधिकृतले गर्ने हो । खरिदको प्रकृया पनि उहाँले नै गर्नै हो । यस्तो कुरामा मेरो हस्तक्षेप हुँदैन् । उहाँहरुले मलाई सोध्नु पनि पर्दैन ।  मैले बजेट विनियोजन गर्ने हो । पारदर्शिताका हिसावले चवन्नी  पैसा लेनादेना इधरउधर केहि पनि भएको छैन । मेरो स्पष्ट धारणा हो ।’ मेयर भण्डारीले भन्नुभयो । 

के भन्छन् हाकीम ?
यता प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले कर्मचारीलाई सिकाएर जनप्रतिनिधी उम्किन नपाइने बताउनुभयो ।  ‘कुनै पनि नगर प्रमुख वा जनप्रतिनिधीले मलाई थाह छैन हाकीमलाई थाह छ भन्छन भने त्यो, सय प्रतिशत झुट बोलेको हो । यो विषयमा तपाइहरु पनि क्लियर हुनुपर्छ । कहाँ बाटो बनाउने, कहाँ पुल बनाउने, कहाँ खानेपानी बनाउने, के सामान खरिद गर्ने । त्यो सामान खरिद गर्न कसलाई दिने भन्ने कुरा योजना बनाउनेलाई थाह हुन्छ । कर्मचारीले त सहयोग गर्ने हो । खर्च बिबरण राखिदिने हो । मेयरको सल्लाह बिना कुनै पनि काम हाकीमले गर्न सक्दैन ।’  देवकोटाले भन्नुभयो ।  टुक्रे योजना बनाएर नगरसभाबाट पास गरेर यो काम गर भन्दै कर्मचारीलाई निर्देशन दिने जनप्रतनिधी नै   जिम्मेवारीबाट पञ्छिन नपाइने बताउनुभयो । 

विवादिन योजनाको काम कसले कतिमा गरे यो पनि हेर्नुहोस

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार
प्रतिक्रिया