तुलसीपुर, ६ वैशाख । कृषिलाई उद्यमसँग जोडेर अगाडि बढ्न सकेमा मात्रै किसान तथा ग्रामीण क्षेत्रका महिलाहरु आर्थिक रुपमा शसक्त हुन सक्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । कृषिलाई बजारीकरण गर्दै व्यवसायी बनाउन सके वास्तविक किसानहरुले समृद्धि प्राप्त गर्ने उनीहरुले बताएका छन् । समाजमा वातावणीय शिक्षाको विकास सीड संस्थाको २३ औ बार्षिक साधारण सधा तथा ११ औँ अधिवेशनको अवसरमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका ग्रीन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेले कृषि पेशामा आवद्ध रहेका महिलाहरुलाई उद्यमशीलतातिर जोड्नु पर्ने बताउनु भयो । हरेक महिलालाई उद्यमी बनाउन सके मात्रै व्यक्ति, परिवार र समाज हुँदै देशको विकास गर्न सकिने बताउनु भयो । त्यसका लागि जो सँग जे सीप छ र जसले जे उत्पादन गर्छ त्यसलाई नै उद्यमसँग जोड्न सके हरेक महिला दिदीबहिनीले समृद्धि प्राप्त गर्न सक्ने बताउनुभयो । सो अवसरमा सीड संस्थाका कार्यकारी निर्देशक भागिराम चौधरीले संस्थाले गरिरहेको अर्गानिक कृषि खेतीलाई अझै प्रोत्साहित गर्नु पर्ने बताउनु भयो । स्थानिय स्तरमै उत्पादन भएका बस्तुलाई स्थानिय स्तरमै खर्च गरेर कम लागतमा धेरै र विषादी रहित कृषि जन्य सामग्री उत्पादनमा सीड संस्था लारिपरेको बताउनुभयो ।
सीड संस्थाले थालेको कामलाई कृषि र उद्यमसँग जोडेर जाने हो भने मात्रै साना र वास्तविक किसानहरु अगाडि बढ्ने बताउनुभयो । यो संस्थाले दाङको तुलसीपुर उपमहानगरपालिकाको वडा नंबर १०, ११,१२,१३,१४,१६, र १७ र दंगीशरण गाउँपालिकाको १ देखि ७ नंबर वडासम्म क्षेत्राधिकार बनाएर विशेष गरी कृषि, महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ । वितेको आर्थिक वर्ष २०८०।०८१ मा विभिन्न २३ वटा तालिम तथा कार्यक्रमहरु संचालन गरेर ४ सय ९२ जनालाई तालिम प्रदान गरेको छ भने ६ सय ७९ जना लाभान्वित भएका छन् । बार्षिक साधारण सभा कार्यक्रममा आर्थिक प्रतिवेदन जानकी चौधरी र सांगठनिक प्रतिवेदन देवेन्द्र चौधरीले गर्नु भएको थियो । संस्थामा अध्यक्ष राममोती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संगीत बस्यालले व्यक्त गर्नुु भएको थियो ।
यसैविच आजको अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ । राममोती चौधरीको अध्यक्षतामा यशोदा न्यौपाने उपाध्यक्ष, विनोद चौधरी सचिव, मिरा चौधरी कोषाध्यक्ष, कमला गौतम, रेणुका विक र सरीता चौभरी सदस्य रहेको नयाँ कार्यसमिति सर्वसहमत चयन गरिएको हो ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।