तुलसीपुर, १७ चैत । तुलसीपुर उपमहानगरपालिकाद्धारा संचालित उपमेयर अल्पकालीन महिला तथा बालबालिका सुरक्षा सेवा केन्द्र (सेफ हाउस) बाट सेवा लिने हिंसा प्रभावित महिलाहरुको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको साढे ८ महिनामा १७ जनाले सेवा लिएका छन् । साउनदेखि चैत्र १५ गतेसम्म ६ देखि १५ वर्षका १० जना बालबालिका र ७ जना महिला गरी १७ जनालाई सेवा प्रदान गरिएको केन्द्र प्रमुख डिला केसीले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०८०÷०८१ मा ३५ जना महिलाले सेवा लिएका थिए भने २६ जना प्रभावित महिलाका साथमै आएका बालबालिकाले सेवा लिएका थिए । उहाँका अनुसार घरेलु हिंसा, यौन हिंसा, सामाजिक हिंसा लगायत अन्य हिंसा प्रभावितहरुले सेवा लिइरहेको छन् भने महिलाहरुका साथमा आएका बालबालिकाहरुले पनि सेवा लिने गरेका छन् ।
यसैगरी वेवारिसे अवस्थामा भेटिएका बालबालिकाहरुले सेवा लिएका छन् । सेफ हाउसमा तुलसीपुर उपमहानगरपालिका बाहेकका अन्य पालिका तथा सल्यान, अर्घाखाँची जिल्लाका महिलाहरुलाई समेत सेवा प्रदान गरिएको केन्द्रका प्रमुख केसीले बताउनुभयो । सो उपमेयर महिला सुरक्षा आवास गृहमा प्रभावित महिला एक पटकमा जम्मा ४५ दिनसम्म सेवा लिन सक्ने व्यवस्था छ । सोही ४५ दिनमा निजको कानुनी न्याय वा पारिवारीक तथा सामाजिक पुनस्र्थापना हुन नसकेमा थप १५ दिन न्यायिक समितिको निर्णयमा राख्न सकिने व्यवस्था रहेको छ । साथै प्रभावितसँगै आएका सहयोगीलाई समेत सात दिनसम्म आवास र खानाको व्यवस्था गर्न सकिन्छ ।
प्रभावितसँगै रहेको १० वर्ष मुनिको बालबालिकालाई पनि उक्त सेवा प्रवाह गर्न सकिने व्यवस्था रहेको छ । तर सेवा अवधिमा जुनसुकै कुरा उल्लेख भएता पनि प्रभावितले न्याय नपाउँदासम्म वा समुदायमा पुनः स्थापना नहुँदासम्म वा कुनै जटिल समस्या समाधान नहुँदासम्म राख्न सकिने व्यवस्था रहेको तुलसीपुर उपमहानगरपालिकाका महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकामा उपमेयर महिला सुरक्षा आवास गृह २०७७ जेठ २३ गते तुलसीपुर उपमहानगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र तुलसीपुर १२ गोलौरीमा रहेको सिर्जना महिला बचत तथा ऋण सहकारी संस्थासँगको साझेदारीमा सञ्चालनमा आएको हो ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।