तुलुसीपुर, १५ चैत । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नंबर ७ श्रीगैँ मा सामुदायिक बहु पुस्तकालय भवन निर्माण हुने भएकोे छ । नगरवासीमा अध्ययन संस्कृतिको विकास गर्ने उद्देश्यले भवन निर्माण गर्न लागिएको हो । पुस्तकालय भवनको पहिलो तलामा ४ कोठा बराबरको एउटा हल कोठा, अन्य दुई वटा कोठा र महिलापुरुषका लागि छुट्टाछुट्टै सुविधासम्पन्न शौचालय हुनेछ ।
सघन सहरी भवन डिभिजन कार्यालयको १ करोड बजेट भएपनि तुलसीपुर ६ मा रहेको शुभ कन्ट्रक्सन प्रालिले टेन्डर प्रक्रियामार्फत ७० लाखमा ठेक्का लिएको छ । आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी तुलसीपुर उपमहानगरपालिकासँग सम्झौता भएको छ । १ कट्ठा जग्गामा फैरिएर निर्माण हुन थालेको पुस्तकालय १५ मिटर लम्बाइ र ९.१५ मिटरको चौडाई रहेको छ । यो क्रमागत योजना अन्र्गत रहेको छ । आगामी वर्षमा फेरी थप वजेटको व्यवस्थापन गरेर स्तरोन्नती गर्ने योजना रहेको तुलसीपुर ७ का वडाअध्यक्ष राम बहादुर जिसीले जानकारी दिनुभयो ।
श्रीर्गै निवासी मित्रलाल भण्डारीले साविक तुलसीपुर नगरपालिका हुँदा उक्त १ कट्ठा क्षेत्रफल रहेको जग्गा निशुल्क रुपमा प्रदान गर्नु भएको थियो । भवन निर्माण पश्चात विभिन्न नयाँ नयाँ पुस्तकहरु राखिने र नगरवासीहरु त्यहाँ गएर ती पुस्तकहरु अध्ययन गर्न पाउने भएका छन् । पुस्तक अध्ययन पश्चात नगरवासीको ज्ञान र क्षमतामा विकास हुने अपेक्षा उपमहानगरपालिकाले लिएको छ । यसैविच विहीबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सामुदायिक बहु पुस्तकालयको शिलान्यास गर्नु भएको छ ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।