२०८३ भाद्र २५ गते बिहिवार

झण्डै एकसय वर्षपछि ढोल्लेखोला मट्टिखन्नी सडकले काँचुली फेर्दै

तुलसीपुर, ११ चैत्र । दाङको तुलसीपुर उपमहानगरपालिका–८ को ढोल्लेखोलाबाट मट्टीखन्ने हुँदै अश्वारा स्कुल जोड्ने सडकको निर्माण कार्य सुरु भएको छ । १९ लाख लागतमा ढोल्ले खोला हुँदै स्कुल जोड्ने सडक र सुर्खेत सडक देखि चोरखोली जोड्ने सडक कालोपत्रे गर्न लागिएको हो ।

पहिलो चरणमा ढोल्ले खोलाको कटकुइयाँ जाने सडक देखि मट्टीखन्ने उकालोको कलभर्टसम्मको १७५ मिटर सडक कालोपत्रे र उकालोको ७१ मिटर भागमा नाला निर्माण गरिने तुलसीपुर उपमहानगरपालिका– ८ का सवइन्जिनियर सृजना शाहीले जानकारी दिनुभयो । सडकको चौडाइ साढे पाँच मिटर भएपनि कालोपत्रे गरिने भाग भने ५ मिटरको हुने छ । त्यसैगरी चोरखोली जोड्ने सडकमा ३५० मिटर कालोपत्रे गरिने छ । सडकको चौडाइ ४ मिटर रहनेछ  । दुबै सडकको निर्माण कार्य २०८२ जेठ ११ गते सम्पन्न गर्नेगरी भ्याली निर्माण सेवा तुलसीपुरले गएको पुस १४ गते तुलसीपुर उपमहानगरपालिकासँग सम्झौता गरेको थियो ।

सडक निर्माणका लागि ३१ लाख बजेको इस्टमेट गरिएता पनि निर्माण कम्पनीले  भ्याट बाहेक १९ लाख ५८ हजार ११ सय ४९ रुपैयाँमा  ठेक्का लिएको हो । सडक निर्माण भएपछि अश्वाराबासी सहित सोही बाटो भएर आवतजावत गर्ने हरेक नागरिकलाई सहजता हुने तुलसीपुर उपमहानगरपालिका –८ का वडा अध्यक्ष धर्मराज वलीले बताउनुभयो ।

“त्यो सडकमा म पनि अहिलेसम्म सयौंपटक ओहरदोहर गरेको छु । मर्मत सम्भारको अभावमा उक्त सडक वर्षौदेखि जीर्ण छ । त्यहीबाटो भएर विद्यार्थीहरू लोड्दैपड्दै स्कुल जान्छन् । खेतीपातीका लागि किसानहरू पनि त्यहीबाटो हलोजुवा बोकेर हलगोरु सहित जान्छन् । खेतमा उत्पादन भएको धान, गहुँ, मसुरो भित्र्याउँदा पनि किसानहरूले त्यही बाटो आउजाउ गर्छन् । छोटो बाटो भएकाले पैदल हिड्ने नागरिक पनि त्यहीबाटो प्रयोग गर्छन् । यति महत्व हुँदाहुँदै पनि आवश्यक बजेट विनियोजन गर्न सकिएको थिएन । यसपटक वडाबाट बजेट विनियोजन गरेर काम सुरु भएको छ । यसले मनमा ठूलो आनन्द मिलेको छ ।”  वडा अध्यक्ष वलीले भन्नुभयो । सडक निर्माण हुनलागेपछि स्थानीयहरु पनि खुशी भएका छन् । 

प्रकाशित मिति : २०८१ चैत्र ११ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।