काठमाण्डौ, १६ माघ । पाँचौ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत आज लिग चरणका चार खेल हुँदैछन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रङ्गशालामा जारी उक्त प्रतियोगिताको पाँचौ दिन महिला र पुरुषतर्फ दुई दुई खेल हुने तालिका छ । पहिलो खेल प्रतियोगिताबाट बाहिरिसकेका ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्ड र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । उक्त खेल बिहान पौने ९ बजेबाट सुरु हुनेछ । दोस्रो खेल बिहान पौने ११ बजे पहिलो क्वालिफायर खेल्ने टुङ्गो लागेका सशस्त्र प्रहरी बल एपिएफ र आयोजक टाइगर ग्रुप पोखराबिच हुनेछ ।
यो खेलले ‘जित्ने समूह’ को विजेता र उपविजेताको भने टुंगो लगाउनेछ । उक्त समूहबाट तेस्रो हुँदै पुलिस एलिमिनेटरमा प्रवेश गरिसकेको छ । आजको तेस्रो र चौथो खेल पुरुषतर्फको हुनेछ । तेस्रो खेलमा टिपटप हेल्प नेपाल स्पोट्र्स क्लब र सशस्त्र प्रहरी बल एपिएफबिच हुनेछ । उक्त खेल पौने १ बजे सुरु हुनेछ । आजै हुने चौथो तथा अन्तिम खेल दिउँसो पौने ३ बजे भारतको सुनिल भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबिच हुनेछ ।।





