तुलसीपुर, ७ माघ । दाङको तुलसीपुरमा प्रथम अन्तर वडा कप रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ । तुलसीपुर–६ को आयोजना तथा युथ अफ तुलसीपुर र मदन भण्डारी युथ क्लब, तुलसीपुरको सहकार्यमा तुलसीपुर–५ स्थित अरनिको मैदानमा यही माघ १९ गतेदेखी २६ गतेसम्म प्रथम अन्तर वडा कप रनिङ शिल्ड प्रतियोगिता २०८१ सञ्चालन हुने भएको हो । आज पत्रकार सम्मेलनको आयोजना गरी यसबारे जानकारी दिदै तुलसीपुर–६ का वडाअध्यक्ष तथा प्रतियोगिता मुल व्यवस्थापन समितिका संयोजक दुजमान भण्डारी (बर्षात) ले दाङ उपत्यकामा बसोबास गर्ने युवा शक्तिलाई फुटवल खेलको माध्यमबाट एकसुत्रमा गोलबद्ध गरी यस क्षेत्रको फुटबल खेललाई अझै द्रुत गतिमा विकास गराउनका लागी प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।
साथै उहाँले नया नया उदयमान तथा प्रतिभाशाली खेलाडीहरुलाई उपमहानगर, जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमासमेत चिनाउने, कुशल तथा प्रतिभाशाली खेलाडीहरुलाई व्यवसायीकरण तर्फ उत्प्रेरणा तथा अग्रसर गराउने, युवाहरुलाई अनुशासित तथा स्वस्थ नागरिक बनाई युवा जनशक्ती तथा युवा फुटबल खेलाडीलाई समाजप्रति उत्तरदायी बनाई सामाजिक कार्यमा कार्यमा आवद्ध बनाउने प्रतियोगिताको मुख्य उदेश्य रहेको बताउनुभएको छ । उहाँका अनुसार प्रतियोगितामा तुलसीपुर उप–महानगरपालिकाका १९ वटै वडाका खेलाडीहरुको सहभागिता हुने भएको छ । प्रतियोगितामा प्रथम पुरस्कार २ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ, चादीको कप, मेडल र प्रमाणपत्र राखिएको छ भने द्धतिय पुरस्कार १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र रहेको छ । यसैगरी अन्य विभिन्न बिधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको छ । प्रतियोगिता सञ्चालनका लागी जम्मा १६ लाख २९ हजार २ सय ८२ रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।।





