काठमाण्डौ, १३ कात्तिक । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साफ महिला च्याम्पियनशिप फुटबलअन्तर्गत भोलि हुने फाइनल खेलको टिकट बिक्री तत्कालका लागि स्थगित गरेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भोलि बेलुका साढे ६ बजे हुने नेपाल र बङ्गलादेशबीचको फाइनल खेलको टिकट अर्को सूचना नआएसम्मका लागि स्थगित भएको एन्फाले जनाएको छ ।
अस्ति आइतवार भएको दोस्रो सेमिफाइनलअन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न आउने दर्शकको सङ्ख्या रङ्गशालाको क्षमताभन्दा बढी भएको थियो । त्यसैले खेलाडी एवम् दर्शकको सुरक्षाका लागि तत्कालका लागि टिकट बिक्री स्थगन गरेको एन्फाको भनाइ छ । यो सार्वजनिक सूचनालाई बेवास्ता गर्दै टिकट बिक्रीवितरण गरी कुनै समस्या आइपरेमा आफू जवाफदेही नहुनेसमेत एन्फाले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ कार्तिक १३ गते मङ्गलवार





