तुलसीपुर, ३ कात्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका–११ मा आजदेखि वडाअध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । अमर मावि उरहरीको प्राङ्गणमा आजदेखी सुरु भएको प्रतियोगिताको लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री भुमिस्वर ढकालले उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री ढकालले खेल क्षेत्रलाई अगाडी बढाउने कुरामा तिनै तहका सरकार चुकेको बताउनुभयो । कार्यक्रमको प्रमुख अथितिसमेत रहनुभएका मन्त्री ढकालले खेलाडीहरुले नै नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउने काम गरेको भन्दै खेल क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । खेलाडीहरुले खेल क्षेत्रबाटै आफ्नो जिवनयापन गर्न सक्ने वातावरणको सृजना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । खेलले खेलाडीको व्यक्तिगत जिवनलाई मात्रै नभएर सामाजिक विकासको काममासमेत टेवा पुर्याउने काम गरिहेको उहाँले बताउनुभयो । त्यसैले गर्दा पनि तिन वटै तहका सरकार मिलेर खेलाडीको बृद्धिविकाससँगै खेलका लागी आवश्यक पर्ने खेल मैदान र पुर्वाधारको काममा विशेष ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।
सो अवसरमा कार्यक्रमका विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का, वडा नम्बर १८ का वडाअध्यक्ष माधव वली, एमाले नगरकमिटिका अध्यक्ष भागिराम चौधरी, काग्रेस नगरकमिटिका अध्यक्ष हेम बहादुर वली, अमर माविका प्रअ पदम बहादुर वलीलगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । वडा नम्बर ११ को आयोजनामा भएको फुटबल प्रतियोगितामा वडा भित्रका सबै खेलाडीहरूको सहभागिताका रहेको छ । आजदेखी सञ्चालन भएको खेलमा ११ टिमको सहभागी हुने छ । प्रथम हुने टिमलाई चालिस (४०,०००) हजार रुपैयाँ नगद र ट्रफी त्यसैगरी दोस्रो हुने टिमलाई पच्चीस (२५,०००) हजार रुपैयाँ नगद प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई नगद पुरस्कारसहित सम्मानित गरिने छ । स्थानीय खेलाडीहरूको क्षमता र प्रतिभालाई उजागर गर्न प्रतियोगिता सुरु गरिएको बताइएको छ । वडाअध्यक्ष मान बहादुर रावतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सहजीकरण वडासचिव पदम कुमार भण्डारीले गर्नुभएको थियो ।।





