काठमाण्डौं, ४ कात्तिक । दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अमेरिकालाई १ सय ७१ रनको लक्ष्य दिएको छ । डालासमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको हो । नेपालका कुशल भुर्तेलले नटआउट ९२ रन बनाउनुभयो । भुर्तेलले ५४ बल खेल्दै ६ छक्का र ७ चौका प्रहार गर्नुभयो । अमेरिकाका जसदीप सिंह र नोस्थुश केन्जिगेले समान २ विकेट लिनुभयो । तीन खेलको टी–२० शृङ्खलामा नेपाल १–० ले अघि छ ।
अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । यो नेपालले अमेरिकासँग खेलेको पहिलो टी–२० खेल पनि थियो । टी–२० शृङ्खलाको तेस्रो तथा अन्तिम खेल पर्सि सोमवार हुनेछ । यो टी–२० शृङ्खलापछि अमेरिकामै आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।।
प्रकाशित मिति : २०८१ कार्तिक ४ गते आइतवार





