टी–२० क्रिकेटमा क्यानडासँग नेपाल पराजित

काठमाण्डौं, १६ असोज ।  त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलामा नेपाल घरेलु टोली क्यानडासँग पराजित भएको छ । किंग सिटीमा गएराति भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो । जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याएको क्यानडाले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेट्टाएको थियो । क्यानडाका लागि साद विन जाफरले अविजित ३३ रन बनाउनुभयो । कप्तान निकोलस किर्तनले २६ रन जोड्नुभयो । नेपालका ललित राजवंशी र सन्दीप लामिछानेले समान २ तथा सोमपाल कामीले एक विकेट लिनुभयो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो । राम्रो सुरुवात गरेको नेपालका लागि ओपनर अनिल शाहले सर्वाधिक ४१ रन बनाउनुभयो । शनिवार भएको श्रृङ्खलाको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई हराएको थियो । नेपालले चौथो तथा अन्तिम खेलमा आज ओमानसँग खेल्दैछ ।।

प्रकाशित मिति : २०८१ असोज १६ गते बुधवार
प्रतिक्रिया