तुलसीपुर, १५ असोज । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । सोमबार साँझ बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टीतेल र डिजेलमा प्रतिलिटर २ रुपैयाँ एवं हवाई इन्धनमा प्रतिलिटिर ६ रुपैयाँ घटाएको हो । यो सँगै सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५७ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य १ सय ४६ रुपैयाँ कायम गरिएको छ । त्यसैगरी झापाको चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ, डिजेल र मट्टीतेल १ सय ४६ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, तेस्रो वर्गको काठमाडौं, पोखरा र दीपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५८ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ४७ रुपैयाँ कायम गरिएको जनाएको छ । यसैगरी, निगमले आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १ सय २६ रुपैयाँ कायम भएको जनाएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकिलोलिटर ९ सय ६० अमेरिकी डलर र पोखरा तथा भैरहवामा ८ सय ६० डलर कायम गरिएको निगमले जनाएको छ ।
आज बिहान १ बजेदेखि लागू हुनेगरी मूल्य समयोजन गरेपछि दसैं–तिहारका उपभोक्तालाई केही राहत मिलेको छ । निगमले हवाई इन्धनमा आन्तरिकतर्फ ६ रुपैयाँ र अन्तर्राष्ट्रियमा प्रतिकिलो लिटरमा ४५ अमेरिकी डलरले मूल्य घटाएको जनाएको छ । एलपी ग्यासको मूल्य भारतबाट प्रतिसिलन्डर २ सय ६९ रुपैयाँ बढेर आए पनि चाडपर्वलाई लक्षित गरी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।