काठमाण्डौं, १३ असोज । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको छ । एक सय २४ रनको लक्ष्य पाएको नेपालले १९ ओभरमा सवै विकेट गुमाएर एक सय नौ रन मात्रै बनाएको थियो । नेपालका कप्तान रोहितकुमार पौडेलले ३९ बलमा दुई चौका र दुई छक्कासहित ३७ रन बनाउनुभयो । यस्तै कुशल मल्लले १२, देव खनालले ११ तथा सन्दीप लामिछानेले १० रन जोड्नुभयो । क्यानडाका कलिम सानाले चार विकेट लिनुभयो ।
त्यसअघि क्यानडाको किङ्ग सिटीमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २३ रन बनाएको थियो । क्यानडाका साद बिन जाफरले सर्वाधिक २३ रन बनाउनुभयो । नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले तीन–तीन तथा दीपेन्द्रसिंह ऐरी र रिजन ढकालले एक–एक विकेट लिनुभयो । नेपालले दोस्रो खेलमा आज राति ओमानसँग खेल्नेछ ।।
प्रकाशित मिति : २०८१ असोज १३ गते आइतवार