मिना बुढाथोकी, सल्यान १९ जेठ ।
जिल्ला अदालत सल्यानका न्यायधिश मदन बहादुर धामीले वालविवाह, वहुविवाह, जवरजस्ती करणी, सम्वन्ध विच्छेद जस्ता घटना सल्यान जिल्लाको मानवअधिकारको लागी चिन्ताको विषय बनेको बताएका छन् । जिल्लाको मानवअधिकारको अवस्थाबारे बुझ्न सल्यान आएको इन्सेक क्षेत्रिय कार्यालय नेपालगंजको टोलीसँगको छलफलमा न्यायधिश धामीले एक वर्षमा सल्यान जिल्ला अदालतमा तिन सय बढि सम्वन्ध विच्छेदका मुद्दाहरु आउने गरेको बताए ।
यसरी अदालतमा दर्ता भएका मध्ये अधिकांश सम्बन्ध विच्छेदका मुद्दाहरुमा कम उमेरका रहेको उनले बताए । बाल विवाह जिल्लाको मानवअअधिकार, महिलाअधिकार र वालअधिकारको रक्षाका लागी सामाजिक रुपमा अभियान नै चलाइनुपर्ने उनले बताए ।
विभिन्न नाटक, जनचेतनामुलक कार्यक्रम तथा नितिगत रुपमा यसका वारेमा काम हुन सकेमा सल्यान जिल्लाको मानवअधिकारको अवस्थामा सुधार आउने उनले बताए । उनले स्थानिय तहको न्याय सम्पादनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । स्थानिय तहमा रहेका न्यायिक समितिबाट प्रभावकारी सेवा विस्तारको लागी उनिहरुको क्षमतालाई पनि समय सापेक्ष बनाउदै लैजानुपर्ने उनले बताए ।
कतिपय अवस्थामा स्थानिय तहका न्यायिक समितिहरु न्याय सम्पादनमा अल्मलमा पर्ने गरेको भन्दै उनले कानुनी जटिलता कम गर्ने उपाय सोचेमा स्थानिय तहबाट न्याय सम्पादन सहज हुने बताए ।
इन्सेक क्षेत्रिय कार्यालय नेपालगंजबाट आएको टोलिले यहाँका मानवअधिकारको क्षेत्रमा क्रियाशिल विभिन्न पक्षहरुसँग भेट गरेको छ । टोलीमा इन्सेक क्षेत्रिय कार्यालय नेपालगंजका प्रमुख भोला महत, अधिकृत नारायण सुवेदी लगायतको सहभागिता रहेको थियो ।
स्थानीय तह संचालन भएयता जिल्लाको मानवअधिकारको अवस्थाका बारेमा जानकारी लिने आप्mनो उदेश्य रहेको ईन्सेक क्षेत्रीय प्रमुख भोला महतले बताए । मानवअधिकारकर्मीले अहिले जनता र स्थानीय जनप्रतिनिधिका बीचपुलको काम गर्नुपर्ने बेला आएको उनले बताए ।
टोलीले जिल्लाको मानव अधिकारको अवस्थाबारे प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, जिल्ला प्रहरी, जिल्ला स्थीत पत्रकार, तथा नागरिक समाजका प्रतिनिधिसँग समेत छलफल गरेको छ । भेटका क्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले स्थानिय तहमा नगर तथा गाउँप्रहरी नहुदा प्रहरी परिचालनमा जटिलता देखिएको बताए ।
यस्तै छलफलका क्रममा पत्रकार तथा नागरिक समाजका अगुवाहरुहरुले जिल्लाको पत्रकारको सुरक्षा अवस्था, मानवअधिकारको अवस्था, स्थानिय तहको काम कारवाहि आदिबारे जानकारी गराएका थिए ।