दाङ, २७ भदाै । लुम्बिनी प्रदेश सभाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको ३० औं बैठकले सर्वसम्मतिमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यको प्रतिनिधि भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले स्थानीय सेवाको गठन सम्बन्धी विधेयकमाथि छलफल र पारित गरियोस भन्ने प्रस्ताव पेश गर्नु भएको थियो ।
सभामुख तुलाराम घर्तीमगरले सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मतिमा पारित भएको घोषणा गर्नु भयो । प्रदेशसभामा वैशाख ३० गते दर्ता भएको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको थियो । समितिले दुई पटक प्रतिवेदन सहितको विधेयक सभामा पेश गरेको थियो । विधेयमा कर्मचारी परिचालनको विषयहरू समावेश गर्न माग राख्दै ध्यानाकर्षण गराएका थिए ।
स्थानीय तहका कर्मचारीलाई प्रदेशभित्रका कुनै स्थानीय तहमा मन्त्रालयले सरुवा गर्न सक्ने, स्थानीय तहका कर्मचारी सरुवा भई जाँदा दुवै पालिकाको अनुमति नचाहिने व्यवस्था राखिएको छ । हाल अन्तर्पालिका सरुवा हुन खोज्दा दुवै पालिकाको अनुमति चाहिने प्रावधान छ । प्रमुख प्रशासकीय अधिकृतले दैनिक रूपमा आफूले गरेको कार्य सम्पादनको विवरण अध्यक्ष वा मेयरलाई पेश गर्नुपर्ने, स्थानीय तह अन्तर्गतका कर्मचारीको दैनिक कार्य सम्पादनको विवरण कार्यालयमा पेश गर्नुपर्ने, गर्भवती महिलालाई उल्लेखित बिदा अपुग भएमा विज्ञ चिकित्सकको सिफारिसमा ६ महिनासम्म बिदा पाउने अधिकार हुने, प्रसुति बिदा पाएका कर्मचारीलाई शिशु स्याहारको लागी शिशु स्याहार खर्च दिइने, कल्याणकारी कोष तथा पुरस्कार को व्यवस्था गर्ने प्रावधान समावेश छ । करारका कर्मचारीले स्थानीय सेवाको कर्मचारीले पाए सरह बिदा पाउने लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ । बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा शून्य समय र विशेष समयमा बोल्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।












