२०८३ भाद्र ११ गते बिहिवार

दाङमा उत्पादन भएको २०५ मेट्रिक टन मह विक्रि भएन

तुलसीपुर, २६ भदौ ।  दाङमा उत्पादन भएको महले बजार नपाउदा किसान समस्यामा परेका छन् । धेरै मेहनत गरेर उत्पादन गरेको महले उचित बजार नपाउदा मर्कामा परेको माहुरी पालक किसानले बताएका छन् । मह उत्पादन गर्न धेरै कठिन हुने गरेपनी उत्पादित महले बजार नपाउदा समस्या हुने गरेको तुलसीपुर–६ मोतिपुरका माहुरी पालक किसान चेतमान भण्डारीले बताउनुभयो । माहुरीले १ बर्षमा ६ महिना मात्रै मह दिने र ६ महिनासम्म कृतिम आहार खुवाएर माहुरीलाई पाल्नुपर्ने हुदा लगानी धेरै लाग्ने गरेको उहाँले बताउनुभयो । ९५ प्रतिशत किसानले उत्पादन गरेको मह विक्री नहुदा माहुरी पालक किसान पेशाबाट पलायन हुने अवस्था आएको उहाँले बताउनुभयो । बजारमा समन्वयकारी भुमिकाको अभावले गर्दा पनि किसानले उत्पादन गरेको मह विक्रि नभएको १८ बर्षदेखी माहुरी पालन व्यवसाय गर्दै आएका अर्का किसान माधव केसीले बताउनुभयो । मार्केटिङको अवस्था कमजोर हुदा पनि समस्या भएको उहाँले बताउनुभयो । तोरीको मह उत्पादन गर्न ३ सय देखी साढे ३ सय रुपैयाँसम्म लाग्ने गरेपनि विक्री गर्दा २ सयमा दिन बाध्य भएको उहाँले बताउनुभयो ।

महको गुणस्तर राम्रो नहुदा विक्री नभएको हो : कृषि ज्ञान केन्द्र
यता कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्बीराज लामीछानेले महको गुणस्तर राम्रो नहुदा बजारीकरणमा समस्या भएको बताउनुभएको छ । विगतमा नेपालको मह बिदेशमा जाने भएकाले बजारीकरणमा खासै समस्या नभए पनि पछिल्लो समय गुणस्तर खस्किदा बिदेश निर्यात रोकिएको उहाँले बताउनुभयो । महमा चिनि मिसिएको भेटिएकाले समस्या भएको भन्दै अझै पनि टाठाँबाठाहरुको भने विक्री भइरहेपनि लाटासोझा किसानको मह विक्री नभएको उहाँले बताउनुभयो । दाङ जिल्ला भर साना–ठुला गरी जम्मा १२ सय ३४ जना किसान मौरी पालन गर्दै आएको उहाँले बताउनुभयो । उहाँका अनसार दाङमा गत बर्ष मात्रै ५ सय २० मेट्रिक टन मह उत्पादन भएकोमा ३ सय १५ मेट्रिक टन मह जिल्ला बाहिर निर्यात भएको छ । जसबाट १४ करोड १७ लाख रुपैयाँ भित्रिएको छ । दाङका १० स्थानिय तह मध्य घोराही, तुलसीपुर र शान्तिनगरमा सबैभन्दा बढि मह उत्पादन हुने गरेको उहाँले बताउनुभउयो ।

बाहिरको महले बजार खायो : नगरपालिका
यता तुलसीपुर उपमहानगरपालिका कृषि शाखा प्रमुख धनराज गौतमले भने बाहिरको महले गर्दा बजारीकरणमा समस्या भएको बताउनुभएको छ । महको गुणस्तरमासमेत कमजोरी देखिएकाले झण्डै डेढ बर्षदेखी महले बजार नपाएको उहाँले बताउनुभयो । बजारीकरणको समस्याबारे माहुरी पालक किसानहरु नगरपालिसँग छलफलमा आएको अवस्थामा पहल गर्न तयार रहेको उहाँले बताउनुभएको छ ।।

प्रकाशित मिति : २०८१ भाद्र २६ गते बुधवार
प्रतिक्रिया