२०८३ भाद्र ११ गते बिहिवार

श्रीलङ्कासँगको अभ्यास खेलमा नेपालले हार्‍यो

काठमाण्डौं, २१ भदौ ।  नेपाल श्रीलङ्का डेभ्लपमेन्टसँगको अभ्यास खेलमा पराजित भएको छ । आज भएको खेलमा नेपाल पाँच विकेटले पराजित भएको हो । नेपालले दिएको एक सय ६० रनको लक्ष्य पछ्याएको श्रीलङ्काले २६ ओभर पाँच बलमा पाँच विकेट गुमाएर पूरा गरेको हो । श्रीलङ्काका क्रिसन सन्जुलाले सर्वाधिक ६८ रन बनाउनुभयो । नेपालका गुलसन झा र कप्तान सोमपाल कामीले समान दुई विकेट लिनुभयो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ४० ओभरमा सबै विकेट गुमाउँदै एक सय ५९ रन बनाएको थियो । नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ४३ रन बनाउनुभयो । यस्तै कुशल मल्ल ३५, अनिलकुमार साह ३५ र करण केसी १५ रन बनाउनुभयो । नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलङ्का डेभलपमेन्ट स्क्वायडबीचको पहिलो तथा दोस्रो अभ्यास खेल वर्षाका कारण टस पनि नभई रद्द भएको थियो । आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि नेपाली टोली श्रीलङ्का गएको हो ।।

प्रकाशित मिति : २०८१ भाद्र २१ गते शुक्रवार
प्रतिक्रिया