तुलसीपुर, १४ भदाै ।  कुनै बेला तुलसीपुरका बजारमा रहेका पसलैपिच्छे बाहिरै देखिने गरि चप्पलका फित्ता डोरीमा झुण्ड्एर राखिएको देखिन्थ्यो । किन भने उतिबेला फित्ता चुँडिएमा फित्ता किनेर चप्पलमा हालेर फेरि त्यसलाई प्रयोग गरिन्थ्यो । यो दाङको तुलसीपुर बजारको मात्रै कुरा होइन । नेपाल अधिराज्यभर जहाँ बजार बस्यो । जहाँ जहाँ चप्पल पुगे त्यहाँ त्यहाँसंगै फित्ता पनि पुगे । करिब २०४५/२०४६ सालमा  चप्पलका फित्तालाई २ रुपैयाँ पर्थ्याे । पछि चप्पलको मूल्य पनि बढ्यो र त्योसंगै फित्ताको मूल्य पनि बढेर ५ रुपैयाँमा पुग्यो । उतिबेला चुँडिएको चप्पल हातमा समातेर फित्ता किन्न आमासँग तुलसीपुर बजारमा गएको अलि अलि सम्झना आउँछ । आमाले दुई रुपैयाँमा हात्ती छाप चप्पलको फित्ता किन्नुभयो अनि पसलवालासँग एउटा फलामको सुइरो जस्तो मागेर त्यही बसेर चप्पलमा फित्ता कोचेर लगाउने बनाइदिनुभयो । अनि आमाले भन्नुभयो ‘राम्रो गरि लगायस् । धेरै चप्पल छिन्ने होइन । अब छिनिस् भने किन्दिनँ ।’ किन कि उति बेलाको २ रुपैयाँ भनेको आजभोलीको दुई हजार रुपैयाँ बराबर जत्तिकै महत्व थियो । त्यही भएर होला आमाले पैसा तिर्दाको पीडा त्यसरी व्यक्त गर्नु भएको थियो होला भन्ने आजभोली लाग्छ ।

त्यही फित्ता किन्ने पैसा पनि उतिबेला नहुने । अहिले त तुलसीपुरको बजार गाउँ बस्न जाने छिमेकीको घरजस्तो नजिकको लाग्छ । कुनै साथीसँग भेट हुनुपर्यो वा चिया खान मन लाग्यो भने तुलसीपुर बजारमा भेटाै‌ंला भन्ने गरिन्छ । उतिबेला दुरीको हिसाबले अश्वाराबाट ५ किलोमिटर भए पनि तुलसीपुरको बजार निकै टाढा जस्तो लाग्थ्यो । किनभने उतिबेला आजभोलीको जस्तो सडक चिल्ला थिएनन् । सवारीसाधनको यस्तो सुविधा थिएन । कच्ची सडक । घुमाउरो बाटो । तुलसीपुर बजार पुग्दासम्म पुल बिनाका ढोल्ले खोला, गहते खोला र पातुखोला पार गर्नुपर्थ्यो । काम विशेषले मात्रै बजार गइन्थ्यो । बजार जानका लागि कि त नुन, मट्टीतेल, चिनी, भेली, जिरा मसला,  कपडा किन्न वा औषधिमूलो गर्न गइन्थ्यो भने कि त  धान, मकै, तोरी, मसुरो तथा  कृषि उपज जस्तै, साग, फर्सी, काँक्रा, आँप, बेलौती बेच्नका लागि जानु पर्थ्याे । त्यो बाहेकको काम पनि पर्दैनथ्यो । मैले किन यसो भनिरहेको छु भने बजारबाट किनेर लगेका चप्पलका फित्ता चुँडिएमा फेर्नका लागि बजार आउन सक्ने अवस्था पनि थिएन । जसको विकल्पमा चप्पल चुँडियो भने घरमै आगोले वा मैन बत्तीले जलाएर जमाउने (चिप्काउने ) गरिन्थ्यो । जति बेला बजारमा हात्ती छाप चप्पल, घोडा छाप चप्पल र बाँटा चप्पल बढी प्रचलनमा थिए । अधिकाँस महिला पुरुषले यीनै चप्पल लगाउने गर्थे ।

हात्तीछाप चप्पल र घोडा छाप चप्पलका फित्ता चुँडिएमा प्राय जसोले आगोमा जलाएर जमाउने गर्थे भने बाँटा चप्पलको हकमा  फित्ता नजम्ने भएकाले चुँडिएमा डोरीको सहयाताले काम चलाउने गरिन्थ्यो भने कसैले नजिकमा छालाका जुत्ता चप्पल बनाउने सार्की कहाँ गएर पनि सिलाउने गर्थे । त्यसबाट पनि  काम नचले फित्ता फेर्ने गरिन्थ्यो । म करिब ९/१० वर्षको हुँदा पहिलोपटक हात्ती छाप चप्पल लगाएको अलि अलि सम्झाना आउँछ । जसलाई ठेट भाषामा उतिबेला ब्वाड–ब्वाडे चप्पल पनि भन्ने गरिन्थ्यो ।
त्यतिबेला हात्ती छाप चप्पलको मूल्य २० रुपैयाँ पर्ने गर्थ्याे भने हात्ती छाप जस्तै फिनिसीङ राम्रो देखिने घोडा छाप चप्पलको मूल्य १८ रुपैयाँ पर्ने गर्थ्याे । बाँटा चप्पलको मूल्य भने उतिबेला ३० रुपैयाँ पर्ने गर्थ्याे । एउटा, टायरको चप्पल पनि थियो । जसलाई थारु समूदायले अलि बढी लगाउने गर्थे । बलियोको दृष्टिकोणले  टायरको चप्पल बलियो थियो । किनेको २/३ वर्षसम्म पनि केहि हुँदैन थियो । भन्नुको मतलव त्यति बलियो थियो ।

मूल्य अनुसारका चप्पल लगाउनेलाई समाजको हेर्ने दृष्टिकोण पनि फरक थियो ।  निम्न वर्गकाले टायर, मध्यम वर्गकाले हात्ती छाप र अलि उच्च घरनाका मानिसले बाँटाका चप्पल लगाउने गर्थे । उति बेला रेडियो नेपालबाट बच्ने एउटा चर्चित विज्ञापन थियो । ‘हात्ती बलियोकी हात्ती छाप चप्पल ।’ यो स्लोगन हरेक नेपालीको जनजिब्रोमा थियो । महिलाका हकमा पनि चप्पल त थिए । ठ्याक्कै चप्पलको नाम थाहा नभए पनि फित्ता फेर्न मिल्ने खालका लेडिज चप्पल पनि पछि आए । जसका कारण अधिकाँसले चप्पल लगाउँदा लगाँउदा खिएर कुरकुच्चाबाट प्वाँल प¥यो, अथवा लगाउन नमिल्ने गरि पातलो भयो भने मात्रै नयाँ किन्ने गर्थे ।  यदि चप्पल राम्रो छ तर फित्ता चुँडिएको छ भने त्यसलाई पुनः प्रयोगमा ल्याउन  फित्ता किनेर लगाउने गर्थे । यसले गर्दा आर्थिक बचत पनि भयो । चप्पलको पूर्ण रुपमा सदुपयोग पनि भयो ।

धर्मशास्त्रले पनि पञ्च तत्वले बनेको शरिका लागि खाली खुट्टाले जमिन छुनुपर्छ भन्छ । तर आज भोली अधिकाँसका खुट्टाले जमीन छुँदैनन् । किनकी उतिबेला चप्पल खिएर पातलो हुँदै प्वाल पथ्र्यो । अनि खुटले पनि जमिन छुन्थ्यो । स्वास्थ्यको दृष्टिकोणले पनि राम्रै गर्थ्याे ।  अब मानिसहरु खेति किसानी गर्न छाडे । हिड्न पनि छाडीसके । घरहरु पनि पक्की भए । जसका कारण खाली खुट्टाले जमिन अर्थात माटो छुने कुरै भएन । यस्तो अवस्थामा कसरी मानव स्वास्थ्य राम्रो हुन्छ ? फाटेका चप्पल टाला हालेर लगाउने त कुरै भएन ।
यसको मतलब खिएका, चुँडिएका चप्पलहरु, फाटेका कपडाहरु टालो हालेर प्रयोग गर्नुपर्छ भन्न खोजेको होइन । तर त्यसको विकल्प पनि थियो है, भन्न खोजेको मात्रै हो । आज किन त्यो बिकल्प छैन ।  हिजो आज पनि त्यस्तै चप्पलहरु बजारमा पाइन्छन् ।  किन फित्ता पठाइएन ? कतिपय चप्पलमा किन सिधै फित्ता फिट गरेर पठाइयो ? जो एकपटक चुँडियो भने फाल्नु पर्ने हुन्छ । जसका कारण पूर्णरुपमा प्रयोगमा आउने भएन ।  रियुज नहुँदा यसको उत्पादन बढ्यो । उत्पादन बढ्दा त्यसले वातावरिणय जोखिम पनि उत्तिकै बढ्ने भयो । पृथ्विसंग हामीले एकोहोरो दोहन मात्र गर्दा एकातिर वातावरणीय जोखिम बढ्ने भयो भने अर्को तर्फ प्रयोग बिहीन सामग्री फोहरका रुपमा फालिदा त्यसले पनि वातावरण प्रदुषण र फोहर व्यवस्थापनमा चुनौति थपियो । तर आजभोली ती फीत्ता कता गए होलान ? बजारमा कतै पनि भेट्टीदैनन् । हुनत मानिसहरुको आर्थिक स्तरमा पनि निकै बदलाव आएको छ । उनिहरु रङ्गीचंगी दुनियाँमा भुलेका छन् ।

विगतमा जस्तो फाटेको कपडालाई सिलाएर लगाउने अवस्था छैन् । अब सुटेट्बुटेटको जमाना आएको छ । यो सबै कारण पुँजिवाद हो । पुजिवादले मानिसलाई कसरी दास बनाउछ भन्ने कुरा यसैबाट पनि प्रष्ट हुन्छ । सन १९१० मा सामान उत्पादक कम्पनीका मालिकहरुको जेनेभामा एउटा क्राइसीस बैठक बस्यो । उत्पादक कम्पनीहरु घाटामा जान थालेपछि उनिहरुको बैठक बसेको थियो । बैठकले के निर्णय ग¥यो भने हरेक सामान अब पुनः प्रयोग गर्न नमिल्ने बनायो । जसका कारण उत्पादित सामानको डिजायन पनि त्यसैगरी गर्न थालियो । जति बेला बिजुलीको एउटा चिम(बल्ब)करिब १० वर्षसम्म उपयोग गर्न सकिन्थ्यो । क्राइसीस बैठक पछि उक्त चिमलाई एक वर्षसम्म प्रयोग गरेपछि स्वत फ्युज हुने र उपयोग गर्न नमिल्ने बनाइयो । हिजो आज नेपाली बजारमा पनि त्यस्तै खाले विभिन्न ब्राण्डका बल्वहरुको एक वर्षको ग्यारेन्टी हुन्छ । एक वर्ष पुग्ने वित्तिकै ती बल्बहरु अटोमेटीक काम गर्न छोड्छन् । यसले गर्दा मान्छेले सामान लागातार किनिरहने भयो भने अर्को तर्फ कम्पनीले पनि लगातार उत्पादन गर्ने भयो । जसका कारण ती कम्पनीहरु लगातार मुनाफामा जाने भए ।

 

सन १९१० मा जेनेभामा बसेकाे क्राइसीस बैठक 

ग्लोबल ह्यापिनेसका अनुसार आज संसारभर कुल २४१ ट्रिलियन डलर सम्पत्ति छ । जसमध्य ११० ट्रिलियन डलर त ८५ घरपरिवारको मुठ्ठीमा छ । आधुकि युगसंगै मानिसका आवश्कताहरु बढ्दै गए । सामानहरु प्रयोग गर्दा कुनै समस्या आयो वा विग्रीयो भने त्यसलाई मर्मतपछि पुनः प्रयोगमा ल्याउन नमिल्ने गरि बनाउन थालियो । फलस्वरुप ती कम्पनीका मालिकहरु झनपछिझन धनी बन्दै गए, गरिब झनपछि झन गरिब भए । यसले धनी र गरिब बीचको खाडल बढ्दै जान थाल्यो । जसले गर्दा आज संसारभर करिब ८ अरब मासिले गर्ने आर्थिक कारोबार त्यही ८५ घरपरिवारको वरीपरि घुमिरहेको छ । त्यसकारण अब उपभोक्ताले पनि रियुज हुने सामानहरु खोज्नु पर्ने बेला आएको छ । उदाहरणका लागि चप्पल किन्दा यसको फित्ता छ ? भनेर सोध्नु पर्ने बेला भयो । उपभोक्ताहरुले पनि मर्मत गरेर पुनः प्रयोगमा ल्याउन सकिने सामान उत्पादनका लागि कम्पनीहरुलाई दबाब सृजना गर्नुपर्ने बेला भएको छ ।

विकल्प के त ?
यता पछिल्लो समय वतावरण विद्हरुले चक्रिय अर्थतन्त्रमा आधारित उत्पादनलाई जोड दिन थालेका छन् । प्राकृतिक स्रोत जतिसक्यो पृथ्वीबाट एकोहोरो लिने, बनाउने र खेर फाल्ने काम गर्दा जलवायु परिवर्तन अहिले संकटमा भएको बताउँदै वातावरण विद् संजीवनी योञ्जनले चक्रिय अर्थतन्त्रमा जाँदा पर्यावरणीय प्रभाव घटाउन, कच्चा पदार्थको अत्यधिक दोहन, फोहोर व्यवस्थापनको चुनौती, र प्रदूषणको समस्यालाई समाधान गर्न मद्दत गर्ने बताउनुभयो । त्यति मात्र हैन चक्रिय अर्थतन्त्रमा पुनः प्रयोग र पुनः प्रशोधनका कारण नयाँ उद्योग र रोजगारीका अवसरहरू सिर्जना हुने भएकाले आर्थिक लाभमा समेत टेवा पुग्ने वतावरण विद् योञ्जनको दाबी छ ।

के हो चक्रिय अर्थतन्त्र 
चक्रिय अर्थतन्त्र एक यस्तो आर्थिक प्रणाली हो जसमा उत्पादन र उपभोगको क्रममा उत्पन्न हुने फोहोर तथा संसाधनहरूको दुरुपयोगलाई न्यून गर्ने लक्ष्य राखिन्छ । यसको मुख्य उद्देश्य भनेको स्रोतको पुनः उपयोग, पुनः निर्माण, र पुनः प्रशोधन गरेर प्राकृतिक सम्पत्तिको संरक्षण गर्नु हो । यो परम्परागत “लिनियर अर्थतन्त्र’’ (जसमा उत्पादन, उपभोग, र फोहोरको प्रक्रियामा जोड दिन्छ) को विपरीत छ । चक्रिय अर्थतन्त्रले “पैदा गर, प्रयोग गर, पुनः प्रयोग गर’’ भन्ने सिद्धान्तलाई समर्थन गर्दछ, जसले गर्दा उत्पादन प्रणालीहरूमा फोहर उत्पादन घटाएर वातावरणमा सकारात्मक असर पु¥याउँछ । चक्रिय अर्थतन्त्रले दीर्घकालीन दिगोपन र आर्थिक स्थिरता सुनिश्चित गर्ने लक्ष्य राख्छ ।

यसले संसारलाई एक पुनः प्रयोग, पुनः निर्माण र पुनः प्रशोधन गर्ने संस्कृतिमा बदल्न मद्दत गर्छ, जसले गर्दा स्रोतहरूको अधिकतम उपयोग र वातावरणीय स्थायित्व सुनिश्चित हुन्छ । चक्रिय अर्थतन्त्रमा जाँदा प्राकृतिक स्रोतहरूलाई बचाएर आगामी पुस्ताका लागि सुरक्षित राख्न मद्दत गर्छ भने उत्पादन लागत घटाउन, पुनःप्रयोग र पुनः प्रशोधनले दीर्घकालमा उत्पादनको लागत घटाउन मद्दत पु¥याउँछ । त्यसैगरी उर्जा उत्पादनमा सौर्य र पवन उर्जाको प्रयोग गरेर परम्परागत स्रोतहरूलाई बदल्ने प्रयास गर्छ भने वस्त्र उद्योग तर्फ  कपडालाई पुनः प्रयोग गर्ने, पुराना कपडालाई नयाँ कपडामा परिणत गर्न सकिन्छ । उत्पादनहरूलाई लामो समयसम्म टिकाउन र सजिलैसँग मर्मत गर्न सकिने गरी डिजाइन गर्न सकिन्छ । 

प्रकाशित मिति : २०८१ भाद्र १४ गते शुक्रवार
प्रतिक्रिया