तुलसीपुर, २३ श्रावन । पश्चिम दाङको पञ्चकुले हुदै ओदाले–सुनपुर जोड्ने सडक विग्रिदा सवारी आवागमनमा समस्या भएको छ । बबई गाउँपालिका–६ को पञ्चकुले हुदै वडा नम्बर ७ को ओदाले जोड्ने सडकको बिच–बिचमा खाल्टाखुल्टी र उकालो बाटोमा चिरा परेका कारण सवारीसाधन सञ्चालनमा धेरै समस्या भएको सवारी चालकहरुले गुनासो गरेका छन् । सडकको अवस्था राम्रो नहुदा दुर्घटनाको जोखिम बढ्नुका साथै गाडीसमेत विग्रने समस्या रहेको ओदाले–तुलसीपुर चल्ने बसका साहु ज्ञान बहादुर भण्डारीले बताउनुभयो । यात्रु बोकेर ओदाले –सुनपुर हुदै तुलसीपुर आउने क्रममा गाउँतिरको सडकमा खाल्टाखुल्टी हुदा बस चिप्लेर फस्ने गरेको उहाँले बताउनुभयो । उकालो सडकमा झनै गाडी फस्ने भएकाले ट्याक्टर लगाएर गाडी निकाल्दै चलाउदै गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाई छ । सडकको अवस्था राम्रो नहुदा ओदाले–सुनपुर सडकमा चल्ने मोटरसाइकल देखी, अटो, यात्रुबहाक बस, स्कुल बसलगाएतका सवारीलाई धेरै सास्ती हुने गरेको छ । सडकमा ग्राभेल पनि नबिछ्याइएको र नाला पनि नकाटिएकाले अवस्था झन जिर्न बन्दै गएको स्कुल बसका चालक दिपक वलीले बताउनुभयो ।
जंगल क्षेत्रको सडकमा खाल्टाखुल्टी हुदा दुर्घटनाको जोखिम बढेको र कतिपय स्थानमा बस जान सक्ने अवस्था नभएका कारण विद्यार्थीहरुलाई बिच जंगलमै छोड्ने गरेको उहाँले बताउनुभयो । सडक विग्रिएको स्थान वडा नम्बर ६ र ७ को सिमानामा पर्ने भएकाले पनि मर्मतमा दुई वडाले आलोपालो गर्दा यस्तो अवस्था आएको स्थानिय अटो चालक चित्र बहादुर खत्रीले बताउनुभयो । यसले गर्दा यात्रुले भनेको बेला सेवा दिन नसकिएको उहाँको भनाई छ । सडक मर्मतको लागी वडामा निबेदन दिएपनि सडकको अवस्था फेरिन नसकेको उहाँले बताउनुभयो । सडकमा ठुल्ठुला खाडल र त्यसैमाथी पानी जम्मा भएकै कारण पैदलयात्रीले समेत बाटोमा हिड्दा सास्ती खेप्नु परेको गुनासो गरेका छन् । यता बबई गाउँपालिका–७ का वडाअध्यक्ष तिलक भण्डारीले भने केहीदिन अगाडी मात्रै सामान्य रुपमा सडक मर्मत गरेपनि फेरी पानीले विगारेको हुन सक्ने बताउनुभएको छ । सो सडक मर्मतका लागी बजेटसमेत विनियोजन भइसकेको उहाँले बताउनुभयो । अहिले बर्खाको अवस्थामा खोलाबाट ग्राभेल उठाउन नमिल्ने भएकाले समस्या भएको भन्दै वडाअध्यक्ष भण्डारीले अब कानुनी प्रकृया पुरा गरी जतिसक्यो छिटो सडकको अवस्था सुधार गर्ने दाबी बताउनुभयो ।।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।