लुम्बिनी प्रदेश सरकारको बजेट खर्च निराशाजनक

तुलसीपुर, ८ बैशाख ।  लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको ९ महिनामा जम्मा ३४ प्रतिशत मात्रै बजेट खर्च भएको छ । चालु आर्थिक वर्षको ९ महिना अर्थात चैत मसान्तसम्म प्रदेश सरकारले पुँजीगततर्फ ३२.९८ प्रतिशत र चालुतर्फ ३६.९ प्रतिशत गरी समग्रमा जम्मा ३४.३० प्रतिशत मात्रै बजेट खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख दिपक ज्ञवालीले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ लाखको बजेट ल्याएको छ । लुम्बिनी प्रदेशमा १० वटा मन्त्रालय रहेकोमा १३ अर्ब ३१ करोड ६० लाख २० हजार रुपैयाँ सर्वाधिक पुँजीगत बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट खर्च चैत मसान्तसम्म जम्मा ४ अर्ब ३० करोड ५० लाख १५ हजार ३ सय २२ रुपैयाँ मात्रै रहेको छ । यसैगरी खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयको पुँजीगत तर्फको बजेट ५ अर्ब ७० करोड ९६ लाख ६० हजार रहेकोमा २ अर्ब ६ करोड १५ लाख ३६ हजार ५ सय ४७ रुपैयाँ खर्च भएको छ भने स्वास्थ्य मन्त्रालयको १ अर्ब ५२ करोड ५६ लाख ९० हजार पुँजीगत बजेट रहेकोमा ७१ करोड १५ लाख ६६ हजार ४ सय ४५ रुपैयाँ खर्च भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पुँजीगत बजेट ६ करोड २ लाख बजेट रहेकोमा १८ लाख ४५ हजार ३ सय १७, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको पुँजीगत तर्फको बजेट ५० करोड १७ लाख ५० हजार रहेकोमा जम्मा ६ करोड १९ लाख ९५ हजार ४ सय ५३, वन तथा वातावरण मन्त्रालयको पुँजीगततर्फको बजेट ८८ करोड ४२ लाख ४७ हजार रहेकोमा जम्मा २१ करोड ६ लाख ५४ हजार ७ सय ५७, सामाजिक विकास मन्त्रालयको ३९ करोड ९२ लाख १० हजार पुँजीगततर्फको बजेट रहेकोमा ११ करोड ६८ लाख ८५ हजार २ सय ३७, अर्थ मन्त्रालयको पुँजीगत बजेट १ करोड रहेकोमा १०.४३ प्रतिशत, कृषि तथा भूमि व्यवस्था मन्त्रालयको पुँजीगततर्फ १८ करोड ७७ लाख ९५ हजार बजेट रहेकोमा २ करोड ६४ लाख ७७ हजार ६८ र गृह मन्त्रालयको पुँजीगततर्फ ३१ करोड ८५ लाख बजेट रहेकोमा १५ करोड २१ लाख २२ हजार ८ सय २६ रुपैयाँ खर्च भएको छ । प्रदेश सभाको ७ करोड २२ लाख ५० हजार पुँजीगततर्फको बजेटमध्ये १ करोड ५६ लाख १९ हजार ७ सय ४० रुपैयाँ खर्च भएको छ । प्रदेश सरकारले अपेक्षा अनुसारको बजेट खर्च गर्न नसकेको भन्दै मन्त्रालयका कर्मचारीहरु यसमा जिम्मेवार हुनुपर्ने लेखा नियन्त्रक ज्ञवालीले बताउनुभएको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार
प्रतिक्रिया