तुलसीपुर, ३० चैत्र । तुलसीपुर –११ को क्वाङ खोलामा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पुल सहित ह्युमपाइप कलभर्ट, सहायक कलभर्ट र ५ सय मिटर नाला निर्माणका लागि ४९ लाख ७८ हजार बजेट विनियोजन गरिएको छ । पुल सहित विभिन्न संरचनाको निर्माण कार्य करिब ८० प्रतिशत पुरा भएको तुलसीपुर उपमहानगरपालिका इन्जिनियर पवन योगीले जानकारी दिनुभयो ।
२०८१ असार १५ गते निर्माण कार्य पुरा गर्ने गरि घनश्याम एण्ड सुस्मिता निर्माण सेवाले गएको फागुन महिनामा तुलसीपुर उपमहानगरपालिकासँग सम्झौता गरेको थियो । पुलको लम्बाइ ५ मिटर चौडाइ ८ मिटर रहेको छ । पुल निर्माण कार्य पुरा भएमा १०, ११ र १२ नम्बर वडाका हजारौं नागरिकहरू प्रत्यक्ष लाभान्वित हुने तुलसीपुर ११ का वडा अध्यक्ष मानबहादुर रावतले जानकारी दिनुभयो ।
क्वाङ खोलामा पुल नहुँदा वर्षातको समयमा यहाँका नागरिकले ठूलो सास्ती खेप्नु परेको बताउँदै पुल निर्माण भएमा एक गाउँबाट अर्को गाउँमा जानका लागि वडाबासीलाई सहज हुने अध्यक्ष रावतले बताउनुभयो । रावत तुलसीपुर ११ को वडा अध्यक्षमा निर्वाचित भएसँगै भौतिक पूर्वाधार विकासको कामलाई तिव्रता दिनुभएको छ ।।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।