ग्राहकको करोडौ रकम निकालेर प्रभु बैंकका कर्मचारी गायब

रुकुम पश्चिम, २७ माघ । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको केन्द्र राडि बजारमा रहेको प्रभु बैंकका एक कर्मचारीले सयौं ग्राहकको करोडौ रकम निकालेर गायब भएका छन । बैंकको अप्रेशन ईन्चार्ज पदमा कार्यरत निराजन शाहले ग्राहकको पैसा लिएर भागेको बैंकका प्रबन्धक डम्बर गौतमले जानकारी दिनुभयो । शाहको जिम्मा लगाएर आफू बिदामा रहेका बेला उनैले पैसा झिकेर फरार भएको उहाले बताउनुभयो । बैंकबाट ग्राहकको रकम निकालेको रहस्य खुलेपछि अहिले आठविसकोट शाखामा छानबिनको लागि प्रभु बैंकको कर्णाली प्रदेशको टोली आईपुगेको छ ।

उक्त टोलीले आन्तरिक छानबिन गरिरहेको छ भने थप अनुसन्धानका लागि केन्द्रिय टोली समेत आउने भएको छ । वडा कार्यालय र नगरपालिका समेतको नाममा रहेको खाताको रकम निकालेर भागेका कर्मचारी शाह अहिले बैंकको सम्पर्कमा नरहेको बैंकका प्रबन्धक गौतमले बताउनुभयो । शाहले उपचारको लागि भन्दै गत आइतबार बैंकसङ्ग बिदा मागेपनी बिदा स्वीकृत भने नभएको उहाले बताउनुभयो । उहाँका अनुसार शाहले अर्काको श्रीमती लिएर गएको भन्ने सुन्नमा आएको छ । बैंक बाट कति रकम लिए भन्ने बारेमा अझै पत्ता नलागेको उहाले बताउनुभयो । बैंकको माथिल्लो स्तरबाट समेत टोलि आएर छानबिन गरिरहेकोले बाकी कुरा पछि थाहा हुने बैंक प्रबन्धक गौतमले बताउनुभयो ।।

प्रकाशित मिति : २०८० माघ २७ गते शनिवार
प्रतिक्रिया