काठमाडौं, ११ असोज । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाँदर र बँदेललाई कृषिका निमित्त हानीकारक वन्यजन्तु घोषणा गर्ने तयारी गरेको छ ।बाँदर, बँदेल, हात्तिलगायत जनावरका कारण किसानले पाएको दुःखबारे सडकदेखि सदनसम्मै कुरा उठिरहेको छ । बाँदर, बँदेलसहित जङ्गली जनावरले बालीनालीमा क्षति गरेपछि खेतबारी बाँझै छोड्ने र बसाइसराइ गर्ने क्रम बढेकोे छ । त्यसैले पनि विभागले बाँदर र बँदेललाई कृषिका निमित्त हानीकारक वन्यजन्तु घोषणा गर्ने तयारी गरेको महानिर्देशक डा. सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।
यो सूचिमा राखिएका जनावरले बाली विनास गरिरहेको अवस्थामा धपाउन खोज्दा मारेमा कानुन लाग्ने छैन । राष्ट्रिय निकुञ्ज ऐनको अनुसूची १ मा उल्लेख भएका वन्यजन्तु वा पन्छीबाहेक अन्यलाई नेपाल राजपत्रमा प्रकाशित गरी निश्चित समयका लागि कृषिका निमित्त हानिकारक घोषित गर्न सकिने व्यवस्था छ । यस अघि पनि केही वन्यजन्तुलाई कृषिका निमित्त हानीकारक घोषणा गरिसकिएको थियो ।वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० अनुसार बाँदर र निलगाईसहित १६ वटा वन्यजन्तुले बालीमा क्षति गरे राहत दिने व्यवस्था छ । बाँदरले बालीमा क्षति पु¥याए अधिकतम १० हजार र बाँदरको आक्रमणबाट मानिस सामान्य घाइते भएमा स्वास्थ्य संस्थाको सिफारिसमा बिलअनुसार २० हजार र मृत्यु भएको व्यक्तिको हकमा नजिकको हकवालालाई १० लाख रुपैयाँ दिने व्यवस्था सरकारले गरेको छ ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।