२०८३ मङ्सिर १० गते बिहिवार

एसईई रिजल्टको मुखमा तुलसीपुरको ज्ञानज्योति १० औ स्थानमा !

सरोकारवालाको टिप्पणी :‘११ कक्षाका विद्यार्थी प्रभाव पार्ने षड्यन्त्र हो’ 


तुलसीपुर, २१ असार ।  सामाजिक सञ्जालमा यतिबेला तुलसीपुरमा रहेको पब्लिक ज्ञानज्योतिले देशैभरका विद्यालयहरूलाई उछिनेर १० औ स्थान ओगटेको भन्ने समाचार भाइरल भएको देखिन्छ । एसईई नतिजाको मुखमा भाइरल भएको यो समाचारको तथ्यता परिक्षण गर्दा वास्तविकता फरक देखिएको छ ।
खास कुरा के हो त ?
सरकारले नै पछिल्लो समय नतिजाका आधारमा विद्यालयको स्थान तोक्ने कुरालाई अवैधानिक ठानेको छ । कुनै पनि सरकारी निकायबाट विद्यालयको श्रेणी तोकिएको पाइदैन । अझ लेटर ग्रेडिङको सुरुवात भएपछि उत्कृष्ट विद्यार्थी र विद्यालय भन्ने कुराको पुरापुर अन्त्य भएको छ । ज्ञानज्योतिले १० औ स्थान ल्याएको कुरा खोजी गर्दै जाँदा कुनै आधिकारिक निकायबाट गरिएको पाइएन । यो त दर्ता समेत नभएको एजुकेसन समाचार अनलाइनले गरेको सर्वेक्षण रहेछ । यो सूचना विभागमा दर्ता समेत भएको छैन । न त यसमा कुनै सम्पादकीय समुहको नाम लेखिएको छ  न त सम्पर्क नम्बर नै रहेको छ । यसरी अज्ञात तरिकाले सञ्चालन भएको अनलाइनको सर्वेक्षणलाई आधार मानेर उत्कृष्टताको घोषणा गर्नु वैधानिक मान्न सकिदैन । समाचार प्रयोजनका लागि कुनै पनि अनलाइन सञ्चालनमा आउनु पूर्व सूचना विभागमा अनिवार्य रुपमा दर्ता हुनुपर्ने कानुनी व्यवस्था छ ।

 

सर्वेक्षण गर्ने अनलाइन 

अब चर्चा गरौँ सर्वेक्षणका मापदण्डका बारेमा 
अनलाइनमा उल्लेख भए अनुसार भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, सरकारी पुरस्कार, स्थापना वर्ष, नतिजा र पब्लिक पर्सेप्सन मापदण्डको आधार बनाइएको छ । नेपालको  परीक्षा प्रणालीका बारेमा हामीलाई थाहा नै छ यस्तो अवस्थामा ८० प्रतिशत अङ्क नतिजामा दिनुले कसरी सही मूल्यांकन हुन सक्छ ? फेरी कुनै पनि शैक्षिक संस्थाको मुख्य सफलता भनेको अध्ययनपश्चात विद्यार्थीले कुन क्षेत्रमा के गरिरहेको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ तर विडम्बना यसलाई मूल्यांकन मापदण्ड भित्र नै राखिएको छैन ।

के भन्छन् शिक्षाका सरोकारवाला ? 

शैक्षिक विकृतिबाट हामी सशङ्कित भएका छौ : एन प्याब्सनका केन्द्रिय उपाध्यक्ष डाँगी

 

 

निजी विद्यालयको छाता संगठन एन प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुबोध डाँगीले पछिल्लो समय शैक्षिक क्षेत्रमा बढ्दै गएको चरम विकृतिले आफूहरू सशङ्कित भएको बताउनुभयो ।  केही समय अघि दाङ सहित देशका ६५ वटा विद्यालयहरूले ‘कल्ले रिडर्स’ नामक संस्थालाई १ लाख २५ हजार रुपैयाँ बुझाएर दुवैमा पुगेर अन्तराष्ट्रिय अवार्ड लिएर आएका थुप्रै घटनाहरू भएको बताउनुभयो ।

‘नेपाल सरकारले गर्न नसकेका काम अहिले अमुख संस्थाहरूले आर्थिक चलखेलका माध्यमबाट गरिरहेका छन् । कल्ले रिडर्स भन्ने संस्थाले अन्तराष्ट्रिय अवार्ड भन्दै दुवैमा वितरण ग¥यो । समाजमा अब्बल देखाउन एक लाख २५ हजार रुपैयाँ तिर्न विद्यालयहरू तयार भए । यसबाट हामी सशङ्कित भएका छौ । हुनेले त पैसा खर्च गरेर तडकभडक गर्ने भयो नहुने कहाँबाट ल्याउने । यसका विरुद्धमा पत्रकारहरूले पनि आवाज उठाउनु पर्छ । वर्षेनी  रिजल्टको मुखमा आएर उत्कृष्ट हुनुपर्ने कारण के छ  ? यो ज्ञानज्योतिले शोभनीय काम गरेको छैन । यो विकृतिका विरुद्ध म कहाँ थुप्रै गुनासाहरू आएका छन । यसको विषयमा हामी छलफल चलाउँछौ । यसको भूमिका कसले खेलेको छ । गहन रुपमा छलफल गर्नुपर्छ । नियमन गर्ने निकाय सुते पनि सचेत नागरिकले कुरा उठाउनु राम्रो कुरा हो । समाजको लागि मार्गदर्शन पनि हो । दबेको आवाजलाई बाहिर ल्याउनै पर्छ । हामी छलफल गर्छौ ।’

यस अघि यस्तै समयमा फोकस भन्ने संस्थाले ४ पटकसम्म  ज्ञानज्योतिलाई हाइलाइटमा ल्याएको चर्चा गर्दै  अहिले गोरखा बोर्डिङमा सरेको उपाध्यक्ष डाँगीले बताउनुभयो । 

कक्षा ११ का विद्यार्थीलाई प्रभावमा पार्न गरिएको षड्यन्त्र हो : प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसी 


यता निजी विद्यालयहरूको अर्को छाता संगठन प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसीले दर्ता विना सञ्चालनमा आएको ‘एजुकेसन समाचार’ नामक अनलाइनले प्रकाशनमा ल्याएको समाचार समाजलाई भ्रम छर्ने काम भएको बताउनुभयो ।  ‘आर्थिक चलखेल गरेर समाचार प्रकाशनमा ल्याउने र समाजमा भ्रम छर्ने काम हो । कक्षा ११ का विद्यार्थीलाई प्रभावमा पार्नका लागि गरिएको षड्यन्त्र हो ।  समाजमा भ्रम सृजना गर्ने र आम पब्लिक र सोझा मान्छेलाई ठग्ने मनसाय हो । यो  काम हिजो पनि थियो र आज पनि छ ।’ अध्यक्ष केसीले भन्नुभयो ।

पढेलेखेकाले गरेको मूर्ख काम हो : खड्का 


लक्ष्य एकेडेमी सेकेन्डरी स्कुलका प्रिन्सिपल लोकेन्द्र खड्काले विद्यालयले गरेको सस्तो प्रचारलाई पढेलेखेकाले गरेको मूर्ख कामको संज्ञा दिनु भएको छ ।   हामी वास्तविक कुरालाई औँल्याउनुपर्छ ।  परीक्षामा चिटिङ गराउने । मेरो विद्यार्थीले यति नम्बर ल्यायो भन्ने । विद्यार्थीले कस्तो संस्कार सिक्यो । ज्ञानज्योतिमा  पढेका कतिले आफ्नो भविष्य बनाउन सके या सकेनन् । घरमा सर्टिफिकेट ल्याउने तर कामको नाममा ढलेको सिन्को नभाँच्ने । यस्तो शिक्षाले हाम्रो समाज कता जाँदै छ । यसका विषयमा सरोकार राख्ने सबैले ध्यान दिनुपर्छ ।’ खड्काले  भन्नुभयाे ।

 शैक्षिक स्वार्थ भन्दा व्यवसायीक स्वार्थमा जोड दिनेलाई  समयमै चिन्न सक्नुपर्ने  बताउँदै प्रिन्सिपल खड्काले समग्र शिक्षामा देखिएको विकृतिका विरुद्ध सबै लाग्न आवश्यक रहेको बताउनुभयो । 

विद्यार्थीलाई प्रलोभनमा पार्न गरिएको चलखेल : सापकाेटा 

लिटिल हेभन इङगलिस मिडियम हाइस्कुलका प्रिन्सिपल कमल सापकोटाले विद्यार्थीलाई प्रलोभनमा पार्न गरिएको चलखेल भएको टिप्पणी गर्नु भएको छ । नेपाल सरकार भन्दा पनि आफ्नै किसिमले आफूलाई माथि पार्न यतिबेला उत्कृष्टताको प्रचार गर्नुको पछाडि  कारण खोज्दै जाँदा विद्यार्थीलाई प्रभावमा पार्ने उद्देश्य रहेको प्रिन्सिपल सापकोटाले बताउनुभयो । 

आधिकारिक निकायले गरेको  मापदण्डका आधारमा  ज्ञानज्योति १० औ स्थानमा आएको हो :  सुरेन्द्र जिसी 


पब्लिक ज्ञानज्योति तुलसीपुरका  प्रमुख सुरेन्द्र जिसीले  राष्ट्रिय परिक्षा बोर्डको रिजल्टको आधारमा इजुकेशन समाचारले देशभरका विद्यालय मध्य १० औ स्थानमा ल्याएको बताउनुभयो ।
प्रगति गरेको देख्न नचाहने केही व्यक्तिले गलत हल्ला फैलाए पनि राष्ट्रिय परीक्षा बोर्डको रिजल्टको आधारमा एजुकेसन समाचारले भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप बोर्डबाट पाएको उत्कृष्ट लगायतका आधारमा १० औ स्थानमा परेको बताउनुभयो ।   एजुकेसन समाचारमा डिटेलमा छ । सबै त्यसमा हेर्नुभयो भने तपाईंले खोजेको कुरा सबै पाउनु हुन्छ । सबै डिटेल नेटमा गएर हेर्न सक्नु हुन्छ ।’ जिसीले  भन्नुभयाे ।


हामीलाई आधिकारिक रुपमा जानारी आएको आएको छैन : शिक्षा महाशाखा 


तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्र बहादुर भण्डारीले ज्ञानज्योति कलेज देशभरका विद्यालयहरू मध्य १० औं स्थानमा आएको भन्ने कुरा आफुहरुलाई आधिकारिक रुपमा जानकारीमा नआएको बताउनुभयो ।  ‘हामीलाई आधिकारिक रुपमा जानकारी आएको छैन । भर्नाको समयमा यस्तो खालको समाचार आउनुको कारण के हो ? कसलाई लक्षित गरेर गरिएको हो । यसका मापनका आधारहरू के के हुन ? यसका विषयमा म विद्यालयसँग बुझ्छु ।’ शिक्षा महाशाखा प्रमुख भण्डारीले भन्नुभयो ।

प्रकाशित मिति : २०८० असार २१ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।