तुलसीपुर, २३ चैत । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ ले प्रत्येक टोलमा विषादी छर्कनका लागि विद्युतीय स्प्रे वितरण गरेको छ । वडा नम्बर २ को २१ वटा टोलमा प्रत्येक टोलका लागि एक÷एक वटा स्प्रे वितरण गरिएको हो । वडा नम्बर २ ले आर्थिक वर्ष २०७९÷८०को बजेटमा किसानहरूलाई विद्युतीय स्प्रेको वितरणका लागि व्यवस्था गरिएको वडाध्यक्ष भीमबहादुर योगीले जानकारी दिनुभयो । उहाँले कृषिजन्य बस्तुको उत्पादनमा रोग किरा नियन्त्रणका लागि विद्युतीय स्प्रे वितरण गरिएको बताउनुभयो । विद्युतीय स्प्रे वितरण कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले आगामी वर्षदेखि कृषि क्षेत्रको बजेट बढाउँदै लैजाने बताउनुभयो ।
उहाँले कृषि क्षेत्रको यान्त्रिकरणमा पालिकाले विशेष जोड दिदै आएको बताउनुभयो । नगरप्रमुख खड्काले भारतीय कृषिजन्य वस्तुलाई नियन्त्रण गर्दै नेपाली किसानले उत्पादन गरेका बस्तुको बजारीकरणमा पालिकाले विशेष जोड दिदै आएको बताउनुभयो । उहाँले पालिका क्षेत्रमा किसानहरूले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि तरकारी बजार क्षेत्रमा निर्माण गरेको र प्रत्येक क्षेत्रमा हाट बजारको व्यवस्थापन गर्न थालेको बताउनुभयो । उहाँले तीन वटै तहका सरकारको समन्वयबाट किसानलाई राहतका कार्यक्रम अघि बढाउन सकिने बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका पूर्व प्रमुख तिलकबहादुर वलीले किसानले बिउँ बाली फेर्दा समेत २० प्रतिशत उत्पादन बढ्ने बताउनुभयो । उहाँले किसानले मापदण्डबमोजिम कृषिकर्म गर्दा उत्पादन बढ्ने बताउनुभयो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।