तुलसीपुर । दाङको तुलसीपुर बजारमा बिहानै महिलाको सुनको सिक्री लुटिएको छ। तुलसीपुर–६ गुम्राहचोक निवासी सृजना डाँगीको करिब सवा एक तोलाको सुनको सिक्री लुटिएको हो।
बिहान करिब पौने ६ बजे तरकारी किन्न बजार पुगेका बेला आफ्नो घाँटीमा लगाएको सुनको सिक्री लुटिएको डाँगीले बताउनुभयो। सिक्री लुटेपछि घटनामा संलग्न व्यक्तिले नजिकै रहेकी अर्की महिलाको सिक्रीसहितको लकेटसमेत चोरी गर्न खोजेपछि घटना बाहिर आएको बताइएको छ।
घटनापछि तुलसीपुर बजारमा बिहानैदेखि सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। पछिल्लो समय तुलसीपुर क्षेत्रमा चोरी तथा लुटपाटका घटना श्रृंखलाबद्ध रूपमा बढ्न थालेको भन्दै स्थानीय तथा व्यवसायीहरूमा चिन्ता बढेको छ।
चाडपर्व नजिकिँदै गर्दा बजार क्षेत्रमा चोरीका घटना बढ्न थालेपछि आफूहरू थप चिन्तित बनेको व्यवसायी सुनिल आचार्यले बताउनुभयो।
स्थानीय दोर्ण न्यौपानेले प्रहरी प्रशासनको लापरबाहीका कारण पछिल्लो समय चोरीका घटनामा वृद्धि भएको आरोप लगाउनुभयो। बजारमा मानिसको चहलपहल बढ्दै गएको अवस्थामा सुरक्षा निगरानी प्रभावकारी बनाउनुपर्ने स्थानीयको माग छ।
यता, इलाका प्रहरी कार्यालय तुलसीपुरले घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको जनाएको छ। घटनाको अनुसन्धान तथा अभियुक्तको खोजीका लागि क्यूआरटी, सादा पोसाक तथा ड्रेसमा प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी होमबहादुर पराजुलीले जानकारी दिनुभयो।
बिहानै बजार क्षेत्रमा महिलाको सुनको सिक्री लुटिएको घटनाले तुलसीपुरमा सर्वसाधारणको सुरक्षाबारे थप प्रश्न उठाएको छ। चाडपर्वको समयमा बजारमा भीडभाड बढ्ने भएकाले चोरी तथा लुटपाट नियन्त्रणका लागि सुरक्षा निगरानी अझ कडा बनाउन स्थानीयले माग गरेका छन्।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।