असोज, ८ दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले खरिद आदेशविनै विभिन्न सामग्री खरिद गरी ती सामग्री ‘जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको’ विवरणका आधारमा साढे ६ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरेको पाइएको छ ।
सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुनी व्यवस्थाअनुसार खरिद प्रक्रिया पूरा गरी आदेशका आधारमा मात्रै सामग्री खरिद गर्नुपर्ने भए पनि तुलसीपुर उपमहानगरपालिकाले नगर प्रमुखको सचिवालय, प्रशासन तथा अन्य शाखाका लागि भन्दै खरिद आदेशविनै सामग्री खरिद गरेको देखिएको हो ।
उपमहानगरपालिकाको कार्यपालिका बैठकले खरिद आदेश नभएका ती सामग्री जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको विवरणसहित भुक्तानी दिने निर्णय गरेको हो । कार्यपालिकाको निर्णयपछि लेखा शाखामार्फत सम्बन्धित रकम भुक्तानीसमेत गरिएको छ ।
कार्यपालिका निर्णयअनुसार प्रशासन शाखाका लागि डिजिटल कम्प्युटर, तुलसीपुरबाट १७ हजार रुपैयाँ बराबरको एक थान प्रिन्टर खरिद गरिएको उल्लेख छ । त्यस्तै राजस्व शाखा र प्रशासन शाखाका लागि प्रतिथान ७९ हजार ३८० रुपैयाँका दरले दुई थान डेल डेस्कटप कम्प्युटर खरिद गरिएको छ । दुई थान डेस्कटपको कुल मूल्य १ लाख ५८ हजार ७६० रुपैयाँ रहेको छ ।
त्यसैगरी मीना योगी, कुन्ता भण्डारी र जिन्सी शाखाका लागि प्रतिथान ८७ हजार ५२२ रुपैयाँका दरले तीन थान ल्यापटप खरिद गरिएको उल्लेख छ । तीन थान ल्यापटपको कुल मूल्य २ लाख ६२ हजार ५६६ रुपैयाँ पर्छ ।
फर्निचरतर्फ लक्ष्मी होम डेकोर, तुलसीपुरबाट प्रशासन शाखाका लागि प्रतिवर्गफुट १ हजार ८ सय रुपैयाँका दरले ३० वर्गफुटको फाइल ¥याक खरिद गरिएको छ । यसको कुल मूल्य ५४ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै नगर प्रमुखको कार्यकक्षका लागि प्रतिवर्गफुट २ हजार रुपैयाँका दरले ८० वर्गफुटको मोडुलर ¥याक खरिद गरिएको उल्लेख छ । उक्त ¥याकको कुल मूल्य १ लाख ६० हजार रुपैयाँ रहेको छ ।
यसरी कम्प्युटर, ल्यापटप, प्रिन्टर तथा फर्निचरलगायतका सामग्री खरिदमा ६ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम खर्च भएको देखिन्छ ।
तर, खरिद आदेशविनै सामग्री खरिद गर्नु र त्यसपछि ती सामग्री आन्दोलनका क्रममा जलेर नष्ट भएको भन्दै कार्यपालिका निर्णयमार्फत भुक्तानी गर्नु प्रक्रियागत रूपमा प्रश्न उठ्ने विषय भएको स्रोतको भनाइ छ ।
खरिद प्रक्रिया, सामग्री खरिद भएको मिति, जेनजी आन्दोलनका क्रममा ती सामग्री वास्तवमै नष्ट भएको प्रमाण तथा भुक्तानीका लागि तयार पारिएको प्रतिवेदनलगायतका विषयले उपमहानगरपालिकाको खर्च प्रक्रियामाथि थप प्रश्न उब्जाएको छ ।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।