तुलसीपुर, १असोज । आर्थिक अभावका कारण विद्यालयका लागि आवश्यक ब्यागसमेत जुटाउन नसकेका विद्यार्थीलाई लक्षित गर्दै तुलसीपुरमा विद्यालयमै पुगेर ब्याग वितरण गरिएको छ।
जय जीव दर्शनका द्रष्टा एवं समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा जीव दर्शनमा आस्थावान युवाहरू यज्ञ कुँवर, कृष्ण न्यौपाने र बसन्त गिरीको सक्रियतामा तुलसीपुर उपमहानगरपालिका ७ कालाखोलास्थित माध्यमिक विद्यालय कालाखोलामा ब्याग वितरण गरिएको हो।
विद्यालयमा पुगेर ब्यागको आवश्यकता भएका विद्यार्थी पहिचान गरी तत्कालै सामग्री हस्तान्तरण गरिएको अभियानमा संलग्न बसन्त गिरीले जानकारी दिनुभयो। उहाँका अनुसार कुनै पूर्वसूचना वा औपचारिक कार्यक्रमभन्दा पनि वास्तविक आवश्यकता भएका विद्यार्थीलाई प्रत्यक्ष रूपमा सहयोग पुर्याउने उद्देश्यले विद्यालयमै पुगेर ब्याग वितरण गरिएको हो।
आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारका बालबालिकालाई अध्ययनमा सहजता प्रदान गर्नुका साथै उनीहरूमा शिक्षाप्रतिको उत्साह बढाउने उद्देश्यले सहयोग गरिएको अभियानकर्ताहरूले बताएका छन्।
सहयोगका क्रममा अभियानमा संलग्न युवाहरूले आगामी दिनमा पनि वास्तविक आवश्यकता पहिचान गरी सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले समाजमा सहयोग, सेवाभाव र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न युवाहरूको सक्रियता आवश्यक रहेको बताएका छन्।
विद्यालयमै पुगेर आवश्यक विद्यार्थीलाई ब्याग उपलब्ध गराइएकोमा माध्यमिक विद्यालय कालाखोलाका प्रधानाध्यापक राजीव वझाले अभियानमा संलग्न सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यस्ता सहयोगले आर्थिक अभावमा रहेका विद्यार्थीलाई अध्ययनमा थप हौसला मिल्ने बताउनुभयो।
स्थानीयस्तरमा वास्तविक आवश्यकता पहिचान गरी गरिने यस्ता प्रत्यक्ष सहयोगले विपन्न विद्यार्थीको शैक्षिक यात्रामा टेवा पुग्नुका साथै समाजमा सेवाभाव र सामाजिक उत्तरदायित्वको संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।