तुलसीपुर, २८ भदौ । दाङको दंगीशरण गाउँपालिका–१ बाँकीबाट दुईवटा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीले पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक गरेको छैन । तर, स्थानीय तथा प्रहरी स्रोतसँग गरिएको कुराकानीका आधारमा पक्राउ पर्ने व्यक्ति देविलाल खत्री रहेको खुलेको छ । प्रहरीले भने उनलाई हाल सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक टोपेन्द्र बुढाको कमाण्डमा खटिएको टोलीले गएराति उनलाई नियन्त्रणमा लिएको हो । प्रहरी स्रोतका अनुसार खत्रीको शरीरबाट बारुदको गन्ध आएको पाइएपछि सोधपुछ तथा खोजतलास गर्दा घरनजिकै लुकाइराखिएको अवस्थामा दुईवटा भरुवा बन्दुक फेला परेको थियो ।
बाँकी गाउँ आसपासमा लामो समयदेखि जथाभावी भरुवा बन्दुक पड्किने गरेको भन्दै स्थानीयले गुनासो गर्दै आएका थिए । बन्दुकको आवाज पटक–पटक सुनेपछि स्थानीयले प्रहरीलाई समेत खबर गर्ने गरेका थिए । पछिल्लो पटक पनि गएराति गाउँमै बन्दुक पड्किएको आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी चौकी गोल्टाकुरीबाट असई कनैयालाल चौधरीसहितको टोली घटनास्थल पुगेको थियो । इलाका प्रहरी कार्यालय हेकुली र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक टोपेन्द्र बुढाको नेतृत्वमा थप प्रहरी टोलीसमेत घटनास्थल पुगेको थियो । प्रहरी टोली घटनास्थल पुगेपछि पनि पुनः बन्दुक पड्किएको स्थानीयको भनाइ छ । त्यसपछि प्रहरीले खोजतलास गर्ने क्रममा खत्रीलाई फेला पारेको थियो । सोधपुछपछि उनको घर आसपासमा खोजी गर्दा दुईवटा भरुवा बन्दुक बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।
बन्दुक पड्किँदा गाउँमा त्रास
गाउँमा पटक–पटक बन्दुक पड्किन थालेपछि स्थानीय त्रसित बनेका छन् । विशेषगरी चाडपर्वका समयमा घरमा बालबालिका तथा आफन्त जम्मा भएको अवस्थामा समेत बन्दुक पड्किने गरेको स्थानीयको गुनासो छ । स्थानीयले पक्राउ परेका व्यक्तिमाथि गम्भीर अनुसन्धान गरी बन्दुक कहाँबाट ल्याइएको हो, कसरी प्रयोग हुँदै आएको थियो र यसमा अन्य व्यक्तिको समेत संलग्नता छ कि छैन भन्ने विषयमा सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् । पक्राउ परेका खत्री यसअघि नेपाल प्रहरीमा कार्यरत रहेको र पछि जागिर छाडेको स्थानीयले बताएका छन् । उनी यसअघि पनि स्थानीयमाथि कुटपिटको आरोपमा पक्राउ परी करिब एक वर्ष जेल बसेर आएको स्थानीयको दाबी छ ।
वन्यजन्तु सिकारसँग पनि जोडेर हेरिँदै
बाँकी क्षेत्रमा यसअघि जंगली जनावर बँदेलको सिकार गरी तुलसीपुर बजारसम्म बिक्री–वितरण हुने गरेको आशंका स्थानीयले व्यक्त गर्दै आएका थिए । घरमा भरुवा बन्दुक राखिनुको कारण वन्यजन्तुको सिकार पनि हुनसक्ने स्थानीयको अनुमान छ । स्थानीयका अनुसार उक्त क्षेत्रमा अन्य व्यक्तिसँग समेत अवैध हातहतियार हुनसक्ने आशंका छ। पक्राउ परेका खत्रीमाथि गहिरो अनुसन्धान गरिए अन्य अवैध हतियार तथा संलग्न व्यक्तिहरूबारे समेत जानकारी खुल्न सक्ने उनीहरूको भनाइ छ ।
घटनाबारे सूचना दिन प्रहरीको आनाकानी
यता, घटनाबारे आधिकारिक सूचना लिन खोज्दा प्रहरीले आनाकानी गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीसँग घटनाबारे बुझ्दा उहाँले विस्तृत जानकारीका लागि जिल्लातिर बुझ्नुपर्ने भन्दै पन्छिन खोज्नुभयो । स्थानीयको गुनासो र घटनाको गम्भीरताबारे जानकारी गराउन खोज्दा समेत विषयवस्तुबारे स्पष्ट प्रतिक्रिया दिनुभएन । इलाका प्रहरी कार्यालय तुलसीपुरकै कार्यक्षेत्रभित्र पर्ने दंगीशरण–१ मा बन्दुक पड्किएको घटनामा स्थानीयले पटक–पटक प्रहरीलाई जानकारी गराएको अवस्थामा समेत प्रहरीको प्रारम्भिक प्रतिक्रिया र सूचना प्रवाहलाई लिएर प्रश्न उठेको छ ।
पक्राउ परेका व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको विषयलाई सामान्य रूपमा प्रस्तुत गरिनुले समेत स्थानीयमा असन्तुष्टि देखिएको छ । उनीहरूले घटनालाई गम्भीर रूपमा लिएर अवैध हतियारको स्रोत, प्रयोग र सम्भावित सञ्जालबारे अनुसन्धान गर्न माग गरेका छन् । यस विषयमा थप जानकारी लिनका लागी जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डीएसपी डा. हेमबहादुर केसीलाई पटक–पटक सम्पर्क गर्दा पनि अन्य प्रहरीले फोन उठाएका छन् । यस्तै जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठको नम्बरमा सम्पर्क गर्दा पनि अन्य व्यक्तिले फोन उठाउदा कुरा हुन पाएन । घटनाबारे प्रहरीबाट सहज रूपमा सूचना प्राप्त हुन नसकेपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भूपेन्द्र खत्रीलाई समेत जानकारी गराइएको छ । डीआईजी खत्रीले सूचनामा सहज पहुँच सुनिश्चित गर्न जिल्ला प्रहरी कार्यालय दाङलाई पत्राचार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ । स्थानीयले गाउँमा अवैध हतियारको प्रयोग र सम्भावित वन्यजन्तु सिकारमाथि समेत गम्भीर अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।